काग तिहार पर्व आज देशभर मनाइँदै
News Desk
Oct-19 , 2025 तारिख 07:43 बिहान

काठमाडौं |कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर मनाइँदैछ। शास्त्र अनुसार यमराजका दूतका रूपमा मानिने कागलाई आजको दिन मीठा–मीठा परिकार चढाएर पूजा गर्ने प्रचलन छ। बिहान सूर्योदयसँगै त्रयोदशी तिथि लागेकाले आज आइतबार नै काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए।

शास्त्रीय विश्वासअनुसार यमराजले पृथ्वीका घटनाक्रम कागका माध्यमबाट थाहा पाउँछन। त्यसैले आजको दिन कागलाई सन्तुष्ट पार्न पूजा र आराधना गरी घर–घरमा अन्न, मिष्ठान्न र परिकार खुवाइन्छ। लोक परम्परामा काग घर वरपर कराएमा शुभ संकेत मानिन्छ र “काग करायो, शुभ खबर ल्यायो” भन्ने चलन पनि प्रचलित छ।

यस अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा र दर्शनको भीड लाग्ने गर्छ। हनुमानढोकास्थित मन्दिरमा त कागको ठूलो मूर्ति नै स्थापना गरिएको छ।

तिहार पर्व यमराजसँग प्रत्यक्षरूपमा सम्बन्धित छ — जसमा दुष्कर्म गर्नेले दण्ड भोग्ने र सत्कर्म गर्नेले धर्मराजको संरक्षण पाउने विश्वास रहिआएको छ। यमयातनाबाट मुक्तिका लागि शनिबार साँझदेखि नै परिवारका सदस्यहरूका नाममा यम दीपदान सुरु भएको छ। वैदिक परम्परा अनुसार दक्षिणतर्फ फर्काएर दीपदान गर्दा यमयातनाबाट मुक्ति मिल्ने भनाइ छ।

यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शनिबार साँझदेखि नै सुरु भएको हो। सोही दिन धनतेरस पर्व पनि मनाइएको थियो। यस दिन गरगहना र तामाका भाँडाकुँडा किन्ने चलन छ, जसले घरमा लक्ष्मी स्थिर रहने धार्मिक विश्वास रहेको छ।

धेरै पढिएको