News Desk
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धन, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी श्रद्धा र उल्लासका साथ मनाइँदै छ। लक्ष्मीलाई धन–धान्य र सम्पन्नताको प्रतीक देवीका रूपमा मानिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष लक्ष्मीपूजाको शुभ साइत बेलुकी ७:०८ बजेदेखि ८:१८ बजेसम्मको समयलाई विशेष शुभ मानिएको छ।
आजको दिन बिहानै घरका हरेक कुनाको सरसफाइ गरी लिपपोत गर्ने र साँझ पख दीपावली गरेर लक्ष्मीलाई स्वागत गर्ने परम्परा रहिआएको छ। झ्याल, ढोका, कोठा, संघार, कौसी, अटालीदेखि भर्याङसम्म दीप र बत्तीले सजाइन्छ।
कार्तिक कृष्ण औंसीको रातलाई ‘सुखरात्री’ पनि भनिन्छ। आजको दिन आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरी चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइन्छ। त्यसै बाटोमा केराको सुत्लो वा माटाको पालामा दीप प्रज्वलन गरी लक्ष्मी आउने मार्ग झिलिमिली पारिन्छ।
दीपावलीपछि पूजा कोठामा लक्ष्मी, गणेश र कलशको स्थापना गरेर गरगहना, पैसा, धान, फलफूल, सेलरोटी र फूलमाला अर्पण गरी विधिपूर्वक लक्ष्मीको आराधना गरिन्छ। पूजा समाप्त भएपछि घरका कन्या र छोरी–चेलीलाई लक्ष्मीको स्वरूप मानी दक्षिणा दिने चलन छ। धार्मिक विश्वास अनुसार आजको दिन लक्ष्मीपूजा पछि घरको धन वा सामग्री बाहिर पठाउन हुँदैन, अन्यथा लक्ष्मी बाहिर जाने मान्यता छ।
लक्ष्मी माताका पूजनीय मन्त्रहरूः
“ॐ ह्रीं श्रीं लक्ष्म्यै नमः॥”
“ॐ ह्रीं श्रीं क्लीं धन लक्ष्म्यै नमः॥”
“ॐ महालक्ष्म्यै च विद्महे विष्णु पत्न्यै च धीमहि, तन्नो लक्ष्मीः प्रचोदयात॥”