नेपाल​ संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त होईन :प्र​धान​म​न्त्री कार्की
News Desk
Oct-23 , 2025 तारिख 06:46 बिहान

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने बताएकी छन्। राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानद्वारा बुधवार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्। प्रधानमन्त्री कार्कीले  नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाइन्। 

नेपाल संवत विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भएपनि राष्ट्रकै मौलिक संवत भएको प्रधानमन्त्री कार्कीकाे भनाइ छ। नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः एक कुशल व्यापारी भएपनि उनी नाफा कमाउने व्यापारी नभएको उनले बताइन्।

साख्वाः एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व भएको उनकाे भनाइ छ। उनकाअनुसार ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिए। यो दिन नै नेपाल संवतको सुभारम्भको आधार भएको प्रधानमन्त्री कार्कीले बताइन्। 

विं.सं ९३६ मा नेपाल संवतको थालनी गरिएको उनले जानकारी दिइन्। नेपाल संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त नभई एक व्यापारीको त्याग र परोपकारको आधारमा शुरु भएकोले यसको महत्व निकै उच्च रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ। नेपाल संवत लोकस्तरबाट उत्पत्ति भएको र यसले लोक विरासत बोकेको उनले बताइन्। 

प्रधानमन्त्री कार्कीकाे भनाइ:–

नेपाल राष्ट्र बैकद्धारा निष्कासित गरिने नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा संवन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु। यो विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भएपनि राष्ट्रकै मौलिक संवत हो।

शंखधर साख्वा काठमाडौको मधुसत्तन ईलाकाका एक कुशल व्यापारी हुनुहुन्थ्यो। तर उहाँको परिचय नाफा कमाउने व्यापारीमा मात्रै सिमित थिएन। एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो।

आज भन्दा ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋण विमोचन गरि ऋणको भारबाट पिडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो। यो दिन नै नेपाल संवतको शुभारम्भ भएको आधार हो।

उहाँको यही अतुलनीय योगदान र सामाजिक न्यायको महान कार्यको कदर स्वरुप विं.सं ९३६ मा नेपाल संवतको थालनी गरियो। यो संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त होईन बरु एक व्यापारीको त्याग र परोपकारको आधारमा शुरु भएकोले यसको महत्व निकै उच्च छ। अर्थात यो लोकस्तरबाट उत्पति भएको र लोक विरासत बोकेको संवत हो।

प्रधानमन्त्री कार्कीले नेपाल संवतलाई सरकारी कागजातमा समेत उल्लेख गरेर सरकारले यसलाई प्रवद्र्धन र व्यवहारिक रुपमा लागू गर्न तत्पराता देखाएको बताइन् ।

नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः लाई वि.सं २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो। नेपाल संवतलाई भने २०६५ कात्तिक ७ गते राष्ट्रिय संवत घोषणा गरिएको थियो। 

धेरै पढिएको