राष्ट्रपतिद्वारा छठ पर्व २०८२ का अवसरमा शुभकामना सन्देश
News Desk
Oct-27 , 2025 तारिख 07:37 बिहान

काठमाडौँ, कात्तिक १० | राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८२ का अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

 शुभकामना सन्देशमा राष्ट्रपतिले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै मनाइने यो पर्वले सामाजिक र प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्ने उल्लेख गरेका छन्। उनले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामना गर्दै मनाइने छठ पर्वले राष्ट्रिय एकता र सामाजिक ऐक्यवद्धता सुदृढ गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपतिले तराई मधेशमा प्रमुख रूपमा मनाइने छठ पर्व हाल काठमाडौं उपत्यका र अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा पनि श्रद्धा र भक्तिपूर्वक मनाइने परम्परा बढ्दै गएकोमा खुशी व्यक्त गरेका छन्।

उनले जनविश्वासअनुसार विधिपूर्वक व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल प्राप्त हुने, परिवारको कल्याण हुने र दुःख–कष्ट दूर हुने विश्वास व्यक्त गर्दै सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहेको सन्दर्भलाई आत्मसात् गर्न आग्रह गरेका छन्।

राष्ट्रपतिले यस पर्वले वर्गीय, जातीय र लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्दै मौलिक संस्कृतिको संरक्षण र आपसी सद्भाव सुदृढ पार्ने प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरे।

सन्देशको अन्त्यमा उनले छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका मार्गमा थप प्रेरणा र शक्ति प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

 

धेरै पढिएको