उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न
News Desk
Oct-28 तारिख 07:13 बिहान • आज

आराध्यदेव सूर्यको उपासनामा चार दिनसम्म मनाइएको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ।

राजधानी काठमाडौंदेखि तराईका विभिन्न जिल्लासम्म भक्तजनहरू रातभर जाग्राम बस्दै उदाउँदो सूर्यदेव र छठी माताको आराधनामा तल्लीन भएका थिए। हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेकाहरूले आज बिहान पुनः सूर्योदयको समयमा पूजा–अर्चना गरेका हुन।

काठमाडौंको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वाग्मती र विष्णुमती किनारमा भक्तजनको भीड देखिएको थियो। त्यसैगरी जनकपुरको गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउ, र वीरगञ्जको घडीअर्वा पोखरीमा पनि समान उत्साहका साथ पर्व मनाइयो।

पूर्वमा मेची, मावा, विरीङ, रतुवा नदी किनारमा र सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता र राजविराज क्षेत्रमा पनि छठको विशेष रौनक देखियो।

दुलहीझैं सिंगारिएका पोखरी र नदी किनारमा हजारौं भक्तजनले पारिवारिक सुख, शान्ति, समृद्धि र मनोकामना पूर्तिको कामना गर्दै सूर्यदेवको आराधना गरे। यसरी चार दिनसम्म चलेको छठ पर्व आज भक्तिभाव र उल्लासका बीच सम्पन्न भएको हो।