News Desk
पाल्पाको सत्यवतीमा अद्वितीय धार्मिक परम्परासहितको ‘चिच्याएर बर माग्ने’ मेला भव्य रूपमा भइरहेको छ। जनविश्वासअनुसार सत्यवती बज्यै कान नसुन्ने भएकाले भक्तजनहरूले चिच्याएर आफ्ना वरदान माग्ने परम्परा रहँदै आएको छ। बुढापाकाहरूका भनाइअनुसार, सत्यवती बज्यैसँग उच्च स्वरमा मागेको वरदान पूरा हुने विश्वासका कारण वर्षेनी हजारौँ भक्तजन टाढाटाढाबाट मन्दिर पुग्ने गर्छन्।
परम्पराअनुसार, पहिले रातिमा मात्रै बरदान माग्ने चलन थियो, तर पछिल्ला वर्षहरूमा भक्तजनहरूले दिउँसो पनि चिच्याएर बर माग्ने प्रथा बढ्दै गएको छ। सत्यवती मन्दिर नजिकै रहेको तालको चारैतिर घुम्दै भक्तजनहरू चिच्याएर आ-आफ्ना मनोकामना व्यक्त गर्छन्।
कार्तिक शुक्ल चतुर्दशीका दिन सत्यवती बज्यैको सम्झनामा मन्दिर परिसरमा बाँसको लिङ्गो गाडी वरदान माग्ने र पूर्णिमाको बिहान उज्यालो नहुँदै त्यस लिङ्गो उठाएर घर लैजाने परम्परा रहँदै आएको छ। यद्यपि पछिल्ला वर्षमा हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म दिनरात मेला लाग्ने चलन बसेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो।
यस वर्षको मेलामा करिब तीन लाखभन्दा बढी भक्तजनले सहभागिता जनाएका छन्। भक्तजनहरू आफ्नो मनोकामना पूरा होस् भन्ने विश्वासमा राँगा, बाख्रा, कुखुरा वा हाँसको बली दिने वा ती जनावरहरूलाई जंगलमा छाड्ने परम्परा पनि कायम छ।
सत्यवती मन्दिरको यो धार्मिक मेला पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत, बागलुङ, म्याग्दी लगायतका जिल्लाका साथै भारतका गोरखपुर र लखनउसम्मका भक्तजनलाई आकर्षित गर्ने महत्वपूर्ण धार्मिक पर्वका रूपमा विकसित भएको छ।