पशुपतिमा बाला चतुर्दशी पर्वका लागि आवश्यक तयारी तीव्र
News Desk
Nov-16 , 2025 तारिख 07:02 बिहान

 पशुपति क्षेत्रको बाला चतुर्दशी पर्वका लागि आवश्यक तयारी तीव्र रूपमा भइरहेको कोषले जनाएको छ। बत्तीको व्यवस्था, पाल व्यवस्थापन, शतबीज छर्ने मार्ग तयार पार्ने लगायतका कार्य सुरु भइसकेका छन। यसका लागि सरोकारवाला संस्थाहरूसँग बैठक बसेर जिम्मेवारीको स्पष्ट बाँडफाँड गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ।

दिवङ्गत पितृको सम्झनामा मंसिर २ गते मंगलबार रातभर दीप प्रज्वलन गरिनेछ भने भोलिपल्ट बुधबार शतबीजारोपण गरिने छ, जसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न त्यसअनुसार तयारी गरिएको छ। हरेक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको रात बत्ती बाल्ने र चतुर्दशीको बिहान शतबीज छर्ने परम्परा रहिआएको छ। यस वर्ष मन्दिरका सबै ढोकाहरू, पश्चिम प्रवेशद्वार तथा बाहिरी परिक्रमा क्षेत्रका प्रवेश बिन्दुमा दीप प्रज्वलनको व्यवस्था मिलाइएको छ।

भक्तजनले रातभर जाग्राम बस्नका लागि आवश्यक पाल तथा अन्य ठाउँहरू कोषले निःशुल्क रूपमा उपलब्ध गराउनेछ, र कुनै पनि व्यक्तिले शुल्क लिन नपाउने गरी कडा निर्देशन जारी गरिएको निमित्त सदस्य–सचिव सुभाषचन्द्र जोशीले बताए। मन्दिर परिसर, ढुङ्गा बिछ्याइएको तथा पिच गरिएका स्थानमा शतबीज नछर्न र उम्रने सम्भावना भएका खाली जमिनमा मात्र छर्न अनुरोध गरिएको छ।

यस अवसरमा मादक र नशालु पदार्थको बिक्री, वितरण तथा सेवन पूर्ण रूपमा निषेध गरिनेछ। यसको निगरानीका लागि कडा सुरक्षा व्यवस्थासमेत मिलाइएको छ। साथै, भक्तजनलाई महँगा गरगहना तथा छालाका जुत्ता–चप्पल नलगाउन आग्रह गरिएको छ।

पर्वका दिन भीड व्यवस्थापन र सहजीकरणका लागि खोजखबर कक्ष संचालन, सञ्चार सुविधा सशक्त बनाउन नेपाल टेलिकम र एनसेलसँग विशेष समन्वय, प्रहरी शिविर, एम्बुलेन्ससहित स्वास्थ्य शिविर, तथा खानेपानी–नुहाउने व्यवस्था गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिएको कोषले जनाएको छ।

कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, किराँतेश्वर, वनकाली, आर्यघाट, मृगस्थली, विश्वरुप लगायत जंगल क्षेत्र हुँदै जाने शतबीज मार्गहरूमा पर्याप्त बत्तीको व्यवस्था मिलाइएको छ। नेपाल विद्युत प्राधिकरणको सहयोगमा लोडसेडिङ नहुने गरी विशेष तयारी भएको कोषले बताएको छ।

धेरै पढिएको