News Desk
गोरखा–बारपाक सुलिकोटको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको ताकुकोट न्वागी मेला यस वर्ष पनि कार्तिक ३० गते र मंसिर १ गते दुई दिनसम्म अत्यन्तै भव्य र सुव्यवस्थित रूपमा सम्पन्न भएको छ। माईभगवती मन्दिर पूजा समिति, वडा नं. ६ र वडा नं. ५ का वडा कार्यालयहरू तथा गोरखा–ताकुकोट सेवासमाज काठमाडौँको संयुक्त आयोजनामा सम्पन्न मेलाले यस वर्ष पनि विशाल भीड र उत्साहपूर्ण वातावरणसँगै स्थानीय संस्कृति, धार्मिक आस्था र सामुदायिक एकताको सुन्दर प्रस्तुति दिएको छ।

कार्तिक ३० गते बेलुका माईभगवती मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जाग्राम बसेर देवीको पूजा–अर्चना, रातभर मादी बाल्ने, तेल ढोल्ने, धार्मिक विधि–विधानअनुसार ब्रत बस्ने जस्ता परम्परागत कार्यक्रमहरू अत्यन्तै भक्तिभावका साथ सम्पन्न भएका थिए। सोही दिन राति ८ बजेदेखि सुरू भएको औपचारिक तथा सांस्कृतिक कार्यक्रम बारपाक–सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी, गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, वडा नं. ६ का अध्यक्ष बाबुलाल गुरुङ, वडा नं. ५ का अध्यक्ष शिव खड्का, नेकपा माओवादी केन्द्र बारपाक–सुलिकोट अध्यक्ष नरबहादुर गुरुङ, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा गोरखा–ताकुकोट सेवासमाज काठमाडौँका अध्यक्ष अनुप श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
रातभर चलेको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेका थिए। सागर गुरुङ, अस्मिता डल्लाकोटी, सन्जय गुरुङ, प्रकाश भट्ट, हास्य कलाकार रामचन्द्र परिवार, गायक पवन गुरुङ, सुमित्रा गुरुङ, पवित्रा आले लगायतका कलाकारहरूले दमदार प्रस्तुति दिए। स्थानीय नयाँ प्रतिभाहरूले प्रस्तुत गरेको नृत्य, झाँकी, हास्य–व्यङ्ग्य र लोकगीतले मेलामा उपस्थित हजारौँ दर्शकलाई मोहित बनाएको थियो।
मंसिर १ गते न्वागी खाने मुख्य दिन पनि दिनभर कार्यक्रम अत्यन्तै भव्य रूपमा सम्पन्न भयो। स्थानीयहरूद्वारा परम्परागत फूलको डोली, दुई पन्चबली तथा बाजागाजासहितको शोभायात्राले सम्पूर्ण वातावरण उत्सवमय बनेको थियो। बन्चेबाँजाको धुनमा भक्तजनहरू नाचगानमा रमाएका थिए। यस दिन पनि राष्ट्रिय कलाकारहरूको प्रस्तुति र भक्तजनहरूको विशाल सहभागिताले मेलालाई अझै भव्य बनाएको थियो।
करिब ५०० वर्ष पुरानो इतिहास बोकेको ताकुकोट न्वागी मेलामा कार्तिकको पहिलो हप्तामा कार्तिके पूजा गरी धानको मुठी लिने तथा मंसिरको पहिलो हप्तामा बार हेरेर न्वागी खाने परम्परा रहिआएको छ। बारपाक–सुलिकोट क्षेत्रकै सबैभन्दा ठूलो मानिने यस मेलाले वर्षेनी स्थानीय सांस्कृतिक पहिचान, सामुदायिक एकता र धार्मिक आस्थाको अभिव्यक्ति प्रस्तुत गर्दै आएको छ।

धार्मिक कार्यक्रमभन्दा बढी सांस्कृतिक पहिचान झल्काउने माध्यम बनेको यस न्वागी मेलाले परम्परागत कला–संस्कृतिको संरक्षण, सामुदायिक बन्धनको मजबुती र पौराणिक आस्थाको निरन्तरता प्रदान गर्दै आएको छ। यस वर्षको न्वागी मेला पनि अत्यन्तै भव्य, अनुशासित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा आयोजक समितिलाई अभिनन्दन तथा सहभागी सबै भक्तजनप्रति कृतज्ञता व्यक्त गरिएको छ।

