विवाहपञ्चमी महोत्सव विहिवारदेखि जनकपुरधाममा विधिवत रूपमा सुरु
News Desk
Nov-21 , 2025 तारिख 06:49 बिहान

मिथिलाञ्चलको सांस्कृतिक गरिमालाई उजागर गर्ने ऐतिहासिक विवाहपञ्चमी महोत्सव विहिवारदेखि जनकपुरधाममा विधिवत रूपमा सुरु भएको छ। पहिलो दिनको कार्यक्रम नगर–दर्शनसँगै जनकपुरधाम उत्सवको रौनकमा डुबेको छ।

नगर–दर्शनअन्तर्गत जनकपुरका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन गरिँदा स्थानीयवासीदेखि तीर्थयात्री र विदेशी पर्यटकसम्मको ठूलो सहभागिता देखियो। चहलपहलले भरिएको शहरमा परम्परागत बाजागाजा, सांस्कृतिक झाँकी तथा विविधरंगी सजावटले वातावरण अझै आकर्षक बनेको थियो।

जनकपुरधामका मठ–मन्दिर, सराय र चौक–चौराहामा गरिएको सजावटले सम्पूर्ण शहर उत्सवमय बनेको छ। आयोजक समितिले यस वर्षको महोत्सवलाई अझ व्यवस्थित, भव्य र सांस्कृतिक रूपमा विशिष्ट बनाउने लक्ष्य राखेको छ।

आगामी दिनहरूमा राम–सीताको विवाहसँग सम्बन्धित झाँकीहरू, मण्डप कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा धार्मिक विधिहरू निरन्तर आयोजना हुँदै जानेछन। महोत्सवको प्रभावसँगै जनकपुरधामका होटल, धर्मशाला, यातायात र बजार क्षेत्रमा जनघनत्व उल्लेख्य रूपमा बढेको छ।

सुरक्षालाई प्राथमिकता दिँदै जोखिम न्यूनिकरणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

महोत्सवको मुख्य आकर्षण मानिने राम–जानकीको ऐतिहासिक विवाहोत्सव मंसिर शुक्ल पञ्चमीका दिन सम्पन्न हुँदै महोत्सव समापन हुनेछ।

धेरै पढिएको