विवाह पञ्चमी आज: जनकपुरधाममा राम–सीताको मिलनको उत्सव भव्य रूपमा मनाइँदै
News Desk
Nov-25 , 2025 तारिख 07:10 बिहान

काठमाडौँ | मार्गशीर्ष शुक्ल पञ्चमी, अर्थात् विवाह पञ्चमीको पावन अवसरमा आज जनकपुरधाममा भव्य उत्सव हुँदैछ। त्रेतायुगमा जनकनन्दिनी सीता र अयोध्यानरेश रामचन्द्रको विवाह सम्पन्न भएको दिनको स्मृतिमा प्रत्येक वर्ष यो पर्व विशेष हर्षोल्लाससहित मनाइन्छ।

मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाममा विवाह पञ्चमी केवल धार्मिक पर्व मात्र होइन, जनमानसकै भावनासँग जोडिएको ऐतिहासिक–सांस्कृतिक महोत्सव पनि हो। मिथिलावासीहरू यस दिनलाई आफ्नो छोरी–बहिनी सीताको पवित्र विवाह उत्सवका रूपमा मनाउँछन्।

पौराणिक कथाअनुसार, मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष धनुर्धर रामले भाँचेसँगै मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम–सीताको विवाह सम्पन्न भएको थियो। यो प्रसंग आज पनि जनकपुरधाममा पुनर्स्मरण गरिन्छ।

महोत्सव सप्ताहभरि मनाइने यो पर्वमा मिथिला संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र वैवाहिक संस्कार प्रदर्शन गरिन्छ। पर्वको मुख्य दिन राम मन्दिरबाट भगवान् रामको प्रतिमालाई विशेष डोलामा राखिएको शोभायात्रा निक्लिन्छ, त्यस्तै जानकी मन्दिरबाट सीतालाई सुसज्जित डोलामा राखी रंगभूमितर्फ लैजाइन्छ।

रंगभूमिमा स्वयंवर विधि तथा प्रतीकात्मक परीक्षा सम्पन्न भएपछि राम–सीताको भेट र विवाह संस्कार सम्पन्न गरिन्छ। यस अवसरमा नेपालका विभिन्न क्षेत्र तथा भारतका सीमावर्ती प्रदेशहरूबाट आएका भक्तजनहरूले शोभायात्रामा सहभागिता जनाउँछन्।

पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव पछिल्लो दुई दशकयता रंगभूमिमै भव्य कार्यक्रमसहित आयोजना हुँदै आएको छ। विगतमा एक महिनासम्म निरन्तर मनाइने विवाह पञ्चमी महोत्सव अहिले एक साता विशेष उत्सवका रूपमा समेटिएको छ।

 

धेरै पढिएको