पञ्चाङ्गको निर्णय अन्तर्राष्ट्रिय सहमतिमा गर्नुपर्नेमा ज्योतिषविद्हरूको जोड
News Desk
Dec-28 , 2025 तारिख 07:13 बिहान

काठमाडौँ  | नेपालमा प्रकाशित हुने पात्रो (पञ्चाङ्ग) कुन सिद्धान्तका आधारमा निर्धारण गर्ने भन्ने विषय नेपालका विद्वानहरूले मात्र एकल रूपमा निर्णय गर्न नसकिने निष्कर्ष निकालिएको छ। चाडपर्व र सांस्कृतिक परम्परा छिमेकी तथा अन्य देशसँग पनि गाँसिएकाले यससम्बन्धी निर्णय संयुक्त रूपमा गर्नुपर्नेमा ज्योतिषविद्हरूले जोड दिएका छन्।

विश्व ज्योतिष महासङ्घको राष्ट्रिय समिति नेपाल, नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ तथा राष्ट्रिय महिला ज्योतिष सङ्घको संयुक्त आयोजनामा शनिबार राजधानीमा सम्पन्न राष्ट्रिय ज्योतिष सम्मेलनमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले पञ्चाङ्गसम्बन्धी निर्णय गर्दा अन्य देशका ज्योतिषविद्हरूलाई समेत समेटेर सम्मेलनमार्फत साझा धारणा बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले संयुक्त निर्णय नहुँदा भारतका भक्तजन एक दिन अघि नै महाशिवरात्रि भन्दै पशुपतिनाथ आउने र नेपालले फरक दिन मनाउने जस्तो अवस्था दोहोरिन सक्ने चेतावनी दिनुभयो। यस्तै समस्या जनकपुरमा मनाइने विवाह पञ्चमीमा पनि देखिन सक्ने उहाँको भनाइ थियो।

कार्यक्रममा समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले २०८३ सालको पात्रो २०८२ सालकै आधारमा प्रकाशन गरिने जानकारी दिनुभयो। साथै २०८४ सालको पात्रो प्रकाशनअघि विस्तृत छलफल र बहसपछि मात्रै निर्णय गरिने उहाँले स्पष्ट पार्नुभयो।

विश्व ज्योतिष महासङ्घका केन्द्रीय अध्यक्ष लोकराज पौडेलले २०८४ सालको पात्रो आकाशीय ग्रहस्थितिको यथार्थ अवस्थाअनुसार प्रतिबिम्बित हुने गरी प्रकाशन गरिनुपर्ने माग गर्नुभयो। कार्यक्रममा समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, पूर्वकार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल, महासङ्घ नेपाल समितिका अध्यक्ष देवराज गौतमलगायत वक्ताले पञ्चाङ्ग सुधारसँगै नेपालको ज्योतिष र धर्मशास्त्र क्षेत्रमा पनि समयानुकूल सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

धेरै पढिएको