News Desk
गुरुङ समुदायले पुरानो वर्षलाई विदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व उल्लासपूर्वक मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ । गुरुङ समुदायले यस पर्वलाई आफ्नो नयाँ वर्षका रूपमा परम्परागत र भव्य ढंगले मनाउने चलन छ ।
तमु ल्होसार सूर्यसँग प्रत्यक्ष रूपमा जोडिएको पर्व हो । गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतजस्ता जिल्लामा सूर्यको ताप चाँडै पुग्ने भएकाले पुस महिनामै यो पर्व मनाइने विश्वास गरिन्छ । त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको बसोबास रहेका क्षेत्रमा सूर्यको ताप ढिलो पुग्ने भएकाले माघ र फागुनमा ल्होसार मनाइने परम्परा रहेको जानकारहरू बताउँछन् ।
पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारको विशेष महत्त्व रहेको उल्लेख गरिन्छ । पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
यस अवसरमा राजधानीको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा परम्परागत तथा सांस्कृतिक वेशभूषामा सजिएका गुरुङ समुदायका सदस्यहरूको सहभागिता रहनेछ भने गुरुङ परिकारहरूको विशेष प्रदर्शनी पनि गरिनेछ । आइतबारदेखि सुरु भएको ल्होसार महोत्सवमा हजारौँ सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको छ ।