News Desk
काठमाडौँ– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिने अवधिमा गरिने स्वस्थानी व्रत, माघ स्नान तथा देवी–देवताको पूजा आराधना आजदेखि सुरु भएको छ। सतीदेवीका अङ्ग पतन भएका स्थानलाई शक्तिपीठ मान्दै त्यहाँ देवीदेवताको वास रहेको विश्वासका आधारमा यो परम्परा चल्दै आएको हो।
वैदिक सनातन धर्मावलम्बीहरूले आजदेखि घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत तथा कथा वाचन आरम्भ गरेका छन्। पौष शुक्ल चतुर्दशीका दिन हातखुट्टाका नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरेर व्रतको सुरुआत गर्ने परम्परा छ। प्रत्येक बिहान माघ स्नान गरी मध्याह्नमा पार्वतीसहित महादेवको पूजा गरिन्छ भने साँझ स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ माहात्म्य समेटिएको स्वस्थानी व्रत कथा श्रवण–वाचन गरिन्छ। कुल परम्पराअनुसार कतै बिहान र कतै बेलुकी कथावाचन गरिन्छ।
एक महिनासम्म व्रत सम्पन्न गरेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र तथा भेटी चढाएर भगवतीलाई अघ्र्य अर्पण गरिन्छ। चढाइएका प्रसादमध्ये आठ–आठ वटा पतिलाई, पति नभए छोरालाई, छोरा पनि नभए मीतछोरालाई र कोही नभए नजिकको पवित्र नदीमा विसर्जन गर्ने व्रतविधि रहेको छ।
व्रत अवधिभर फलाहार गरी सय रोटी ग्रहण गर्ने र पूर्णिमाको रात जाग्राम बस्ने परम्परा छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसरी व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। ‘स्वस्थानी’ शब्दको अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी, कमल र सिंहासनमा विराजमान देवीका रूपमा वर्णन गरिएको छ। उहाँका अनुसार देवीका चार हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा रहेको उल्लेख छ।
स्वस्थानी व्रतले बिछोडमा परेका दम्पतीको पुनर्मिलन हुने, रोगव्याधि निको हुने तथा इच्छित जीवनसाथी प्राप्त हुने विश्वास प्रचलित छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन विष्णुको निर्देशनमा स्वस्थानी व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। साथै नाग–नागिनीको पुनर्मिलन र गोमा ब्राह्मणीले व्रतको प्रभावबाट पुत्र वियोगबाट मुक्ति पाएको कथासमेत उल्लेख गरिएको इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिनुभयो।
यसै अवसरमा आजदेखि उपत्यकाको उत्तरपूर्वी भेगमा पर्ने साँखुस्थित शालिनदीमा एक महिने माधवनारायण मेला पनि सुरु भएको छ। काठमाडौँबाट करिब १८ किलोमिटर टाढा रहेको शालिनदीमा माघ महिनामा स्नान गरी माधवनारायण र श्रीस्वस्थानीको दर्शन गरेमा पाप नाश भई पुण्य प्राप्त हुने विश्वास छ।
शालिनदी व्यवस्थापन समितिका अनुसार यस वर्षको मेलाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। मेला अवधिभर नेपालका विभिन्न क्षेत्र तथा भारतबाट समेत हजारौँ भक्तजन शालिनदीमा आउने परम्परा रहेको छ।