आज​ मकर–माघे सङ्क्रान्ति म​नाईदै
News Desk
Jan-15 तारिख 06:30 बिहान

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई सङ्क्रान्ति भनिन्छ । यही कारण माघ १ गतेलाई मकर–माघे सङ्क्रान्तिका रूपमा मनाइन्छ । यस दिनदेखि सूर्य उत्तरायण प्रवेश गर्ने भएकाले दिन लामो र रात क्रमशः छोटो हुँदै जान्छ । उत्तरायणको आरम्भलाई धार्मिक दृष्टिले अत्यन्त शुभ मानिने भएकाले यस दिन स्नान, जप, तप, ध्यान, व्रत र दानलाई विशेष पुण्यदायी ठानिन्छ ।

माघे सङ्क्रान्तिका अवसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका तीर्थस्थलहरूमा माघ स्नान गर्ने भक्तजनको उल्लेख्य भीड लाग्ने गर्छ । ती स्थानहरूमा विशेष मेला पनि आयोजना गरिन्छ । तराई क्षेत्रमा भने माघ १ गतेलाई ‘नहान’ अर्थात नुहाउने पर्वका रूपमा मनाउने चलन छ । वर्षभरि नुहाउन सहज वातावरण नपाउने तराईवासीले पनि यस दिन अनिवार्य स्नान गर्नुपर्ने धार्मिक मान्यता राख्दै आएका छन् ।

धार्मिक विश्वासअनुसार बिहानै तीर्थमा पुगेर स्नान गरी तिल दान गर्दा सुन दान गरे सरहको पुण्य प्राप्त हुने मानिन्छ । धर्मशास्त्रअनुसार माघ १ गते घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा स्नान नगर्ने तथा ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ ।

उत्तरायण सुरु भएपछि शुभकार्य गर्न उत्तम मानिने परम्परा छ । माघे सङ्क्रान्तिका दिन स्नान, दान, व्रत र ध्यान गर्नेले पुण्य प्राप्त गरी मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । यस अवसरमा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो र खिचडी खाने चलन छ । जाडो मौसममा शरीरलाई न्यानो राख्न सहयोग गर्ने भएकाले चिसो समयमा पर्ने यस पर्वमा तातो परिकार सेवन गर्ने परम्परा विकसित भएको हो । आयुर्वेद चिकित्सकका अनुसार यस्ता परिकारले शरीरका त्रिदोष नाश गर्न मद्दत गर्छन् ।

पुस महिनाको अन्तिम दिन तरुल पकाएर माघमा खाने चलन पनि विभिन्न स्थानमा पाइन्छ । यसै सन्दर्भमा ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखान प्रचलित छ । माघे सङ्क्रान्तिका दिन तिलको तेलले शरीरमा मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कने विश्वास पनि रहिआएको छ । आयुर्वेद शास्त्रअनुसार तिलको तेलले मालिस गर्दा नाडी, स्नायुमण्डल र हड्डी सुदृढ र स्वस्थ रहने मानिन्छ ।

धार्मिक मान्यताअनुसार सूर्य उत्तरायणपछि हुने मृत्युलाई उत्तम मानिन्छ । महाभारतकालीन पात्र भीष्मले इच्छा मृत्युको वरदानअनुसार सूर्य उत्तरायण भएपछि मात्र देहत्याग गरेको कथन प्रचलित छ । यसै दिन भक्तपुरस्थित तिलमाधव नारायणस्थानमा पनि विशेष मेला लाग्ने गर्दछ ।

माघ महिनामा माघ माहात्म्यको विशेष महत्व रहन्छ । स्कन्द पुराणअन्तर्गत माघ माहात्म्यमा केदारखण्डका कुमार र अगस्त्यबीच भएको संवादका रूपमा स्वस्थानी व्रतकथा पौष शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म सुनिने र सुनाइने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ भइसकेको छ । चान्द्रमासअनुसार माघ महिनाभरि स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजाआराधना गर्ने परम्परा भएकाले यस व्रतलाई माघ स्नान पनि भनिन्छ ।

यसै अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउने घोषणा गरेको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गर्ने परम्परालाई आधार मानेर गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।