माधवनारायण व्रतालु चाँगुनारायण पुगे, आज विशेष पूजा सम्पन्न हुने
News Desk
Jan-30 तारिख 08:39 बिहान

काठमाडौँ । साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसिरहेका व्रतालुहरू चाँगुनारायण मन्दिर पुगेका छन्। व्रतको विधिअनुसार परदेश यात्राअन्तर्गत उनीहरू बिहीबार साँझ चाँगुनारायण पुगेका हुन्। परम्पराअनुसार शुक्रबार बिहान सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणको स्थापना गरेर पूजा–आराधना गरिनेछ।

एक महिना लामो माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ। यस अवधिमा गरिने तीर्थयात्रामध्ये चाँगुनारायण यात्रा तेस्रो हो। यसअघि व्रतालुहरूले पशुपति, दक्षिणकालीस्थित शेषनारायण तथा काभ्रेपलाञ्चोकको पनौतीमा तीर्थयात्रा सम्पन्न गरिसकेका छन्। परम्पराअनुसार चाँगुनारायणको तीर्थयात्रा माघ शुक्ल एकादशीको राति गर्ने चलन रहेको छ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहका अनुसार माघ शुक्ल द्वादशीका दिन बिहान सादहमा स्नान गरी चाँगुनारायणमा माधवनारायणको रथ स्थापना गरेर पूजा आराधना गरेपछि व्रतालुहरू साँखु फर्कने गर्छन्। त्यसपछि आ–आफ्ना घरमा पुगेर भोजन गर्ने विधि रहेको उहाँले जानकारी दिनुभयो।

घरघरमा भोजन सम्पन्न भएपछि साँखुमा भीमसेन जात्रा आयोजना गरिने परम्परा छ। उक्त जात्रा साँखु बजार परिक्रमा गराउँदै मनाइने चलन रहिआएको छ।

धेरै पढिएको