आज​ महाशिवरात्रि प​र्व​ म​नाईदै
News Desk
Feb-15 तारिख 06:35 बिहान

काठमाडौं । महाशिवरात्रिको पावन अवसरमा आज बिहान २ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका सर्वसाधारणका लागि खोलिएको पशुपति क्षेत्र विकास कोष ले जनाएको छ। अघिल्ला वर्षहरूमा यसै दिन १० लाखभन्दा बढी भक्तजनले पशुपति क्षेत्रको दर्शन गर्ने गरेका तथ्यांकका आधारमा यस वर्ष पनि ठूलो भीड व्यवस्थापनको तयारी गरिएको छ।

दर्शन व्यवस्थापनलाई सहज बनाउन यस पटक बाहिरी रूपमा तीन मुख्य लाइनको व्यवस्था गरिएको कोषले जानकारी दिएको छ। मित्रपार्क–गौरीघाट र उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन सञ्चालन गरिएको छ। त्यसैगरी बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा तथा पिङ्गलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकासम्म दुई लाइनको व्यवस्था मिलाइएको छ।

पश्चिमतर्फ वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्ने अर्को वैकल्पिक लाइनसमेत सञ्चालनमा ल्याइने जनाइएको छ। आवश्यकताअनुसार तिलगङ्गा राममन्दिर क्षेत्रबाट पनि थप लाइन विस्तार गर्न सकिने तयारी रहेको कोषले स्पष्ट पारेको छ।

मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि उत्तर र दक्षिण दिशाबाट तीन–तीन तथा पश्चिमबाट चार वटा भित्री लाइनमार्फत दर्शन गराउने योजना बनाइएको छ, जसले भीड व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

दर्शनार्थीका सवारी साधन पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय परिसर तथा वनकाली क्षेत्रमा विशेष व्यवस्था मिलाइएको छ। महाशिवरात्रिको अवसरमा पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर मन्दिर र डोलेश्वर महादेव मन्दिर लगायतका शिवालयहरूमा पनि भक्तजनको उल्लेख्य भीड लागेको छ। राजधानी बाहिरका शिव मन्दिरहरूमा समेत आज विशेष पूजाआराधना, दीपप्रज्वलन र दर्शनका कार्यक्रम भव्य रूपमा सञ्चालन भइरहेका छन्।

धेरै पढिएको