आज विश्व नेवाः दिवस मनाइँदै
News Desk
Mar-28 तारिख 07:10 बिहान

काठमाडौं | नेवारी साहित्य, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण र यसको वैश्विक पहिचान विस्तार गर्ने उद्देश्यसहित आज विश्वभर ‘विश्व नेवाः दिवस’ विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार यो दिवस मनाउने परम्परा रहेको छ।

यस दिवसको सुरुवात सन् २०१८ देखि भएको हो। स्थापना कालमै विश्वका २२ देशहरूमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी यसलाई व्यापक रूपमा मनाइएको थियो। त्यसयता यो दिवसले अन्तर्राष्ट्रिय स्तरमा नेवाः समुदायलाई एकताबद्ध गर्ने माध्यमका रूपमा पहिचान बनाउँदै आएको छ।

आजको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेशनले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ। साथै, विश्वका विभिन्न देशहरूमा रहेका नेवाः समुदायले आ–आफ्नो स्थानमा सांस्कृतिक, साहित्यिक तथा सामाजिक कार्यक्रममार्फत दिवसलाई भव्य रूपमा मनाइरहेका छन्।

सांस्कृतिक दृष्टिले अत्यन्त समृद्ध मानिने नेवार समुदायको आफ्नै भाषा, लिपि, परम्परा र जीवनशैली रहेको छ, जसले नेपालको बहुआयामिक सांस्कृतिक पहिचानलाई अझ समृद्ध बनाउँदै आएको छ।

धेरै पढिएको