रकम अभावले भुम्लुको मणि गुम्बा निर्माण अलपत्र
News Desk
May-16 तारिख 12:08 बेलुका • आज

काभ्रे l काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका- ४ लाम्राङ  आहालडाँडामा निर्माणाधीन मणि गुम्बाको निर्माण कार्य आर्थिक अभावका कारण बीचमै रोकिएको छ। बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा सञ्चालन नियमावली २०७१ अन्तर्गत दर्ता भएको उक्त गुम्बाको निर्माण कार्य पर्याप्त बजेट अभावले प्रभावित बनेको हो।

मणि गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष जसवीर लामाका अनुसार गुम्बा निर्माणका लागि पुरातत्त्व विभागबाट केही रकम विनियोजन भए पनि त्यो पर्याप्त नभएकाले निर्माण कार्य निरन्तर अगाडि बढाउन कठिन भएको छ। उनले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकाले थप आर्थिक संकट सिर्जना भएको बताए।

“गुम्बा निर्माण कार्यलाई पूर्णता दिन अपेक्षित बजेट नपुग्दा काम रोक्नुपर्ने अवस्था आएको छ,” लामाले भने, “धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस गुम्बाको निर्माण सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखेका छौं ।”

स्थानीय बासिन्दा तथा बौद्ध धर्मावलम्बीहरूको आस्था केन्द्रका रूपमा निर्माण भइरहेको गुम्बा अपूरो रहँदा धार्मिक गतिविधि सञ्चालनमा समेत असर परेको उनले बताए । व्यवस्थापन समितिले देश तथा विदेशमा रहेका सहयोगी मनहरूलाई आर्थिक सहयोग गर्न आग्रह गरेको छ।