News Desk
बिष्णु गौतम
देवघाट, ६ जेठ-देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको ३२ घरधुरीलाई रोक्ट्रयाक्ट क्लब अफ नारायणगढ शाखा चितवनले चामल, दाल,आलु,नुन,तेल सहित २० हजार बराबरको राहत वितरण गरेको छ। क्लबले आर्थिक अवस्था कमजोर भएका बिपन्न वर्ग तथा ज्यालादारी मजदुरी गरि दैनिकी गुजारा गर्ने देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको बिपन्न बस्ती तथा बोटे समुदायमा सो राहत वितरण गरेको हो ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरले उक्त राहत वितरणका लागि क्लबलाई धन्यवाद दिएका छन् । ‘विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९)को महामारीको दोस्रो लहरको रोकथाम, नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञामा पिल्सिएकाकाहरुलाई लक्षित गरि राहत वितरण गरेकामा रोक्ट्रयाक्ट क्लब अफ नारायणगाढ शाखा चितवनलाई धन्यवाद दिन चाहन्छु’ अध्यक्ष थापाले धन्यवाद दिदै भने ।
रोक्ट्रयाक्ट क्लब अफ नारायणगाढ शाखा चितवनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बिनोद श्रेष्ठले विश्वव्यापी रुपमा फैलिएको दोस्रो कोरोना भाईरसबाट निषेधाज्ञामा पिल्सिएका, आर्थिक अवस्था कमजोर भएका बिपन्न बर्ग तथा बोटे समुदायका ज्यालादारी मजदुर गरि दैनिकी गुजारा गरिरहेका मजदुरहरुको लागि असहज परिस्थितीलाई थोरै भए पनि न्यूनीकरण गर्नका लागि उक्त सहयोग हुने ठानेर सघाउने प्रयास गरेको जानकारी दिए । ‘सामाजिक उत्तरदायित् लाई मध्य नजर राख्दै देवघाट गाउँपालिका वडा नम्बर ५ को बिपन्न वस्ती तथा बोटे समुदायमा सो राहत सहयोग गरेका हौ’ उनले सहयोग बारे स्पस्ट पार्दै भने ।
सो राहत वितरण कार्यक्रममा देवघाट ईलाका प्रहरी कार्यालय इन्चार्ज सुशील लामिछाने,रोक्ट्रयाक्ट क्लब अफ नारायणगाढ शाखा चितवनका अध्यक्ष सुनिल घिमिरे,रोक्ट्रयाक्ट क्लब अफ नारायणगढ शाखा चितवनका पुर्व अध्यक्ष तेज बहादुर रानाभाट,लियो क्लब अफ देवघाट चौतारीका अध्यक्ष आत्माराम पाण्डे,समाजसेवी युवा सम्राट अधिकारी लगाएको उपस्थिति रहेको थियो।