फास्ट ट्रयाक निर्माण तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी
News Desk
Jul-31 , 2021 तारिख 12:37 बिहान

काठमाडौँ - नेपाली सेनाले तराईमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण तोकिएकै समयमा सक्ने जनाएको छ । २०८१ मंसिरभित्र आयोजना सम्पन्न हुने सेनाको दाबी छ । ‘खोकनाको जग्गा विवाद २०७९ वैशाखसम्म सकिन्छ भन्ने विश्वास छ,’ काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख विकास पोखरेलको ले भने, ‘तर यसबीचमा अन्य खण्डमा कामको रफ्तार भने बढिरहनेछ ।’ अहिलेसम्म आयोजनाको भौतिक प्रगति १६ दशमलव १० प्रतिशत छ ।


अहिले आयोजनाको मुख्य काम भनेको सुरुङ र पुल निर्माण हो । सुरुङको ठेक्का भएर डिजाइनको काम अघि बढाइएको छ । पुलको ठेक्का भने भएको छैन । पहिलो प्याकेजको सुरुङ निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङको प्राविधिक टोली डिजाइजनका लागि नेपाल आइसकेको छ ।


कोरोना संक्रमणको जोखिम रहेकाले २३ जनाको प्राविधिक टोली पीपीई लगाएर चार्टर्ड फ्लाइटमार्फत मंगलवार राती काठमाडौं उत्रिएको हो । सबै प्राविधिकको पीसीआर परीक्षण गरेर संक्रमण नभएको पुष्टि भएपछि मात्रै फिल्डमा पठाइने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

दोस्रो प्याकेजको ठेक्का पाएको पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसन कम्पनीका १४ जना प्राविधिक टोली डिजाइनको काम गर्न भन्दै गत असार ९ मै नेपाल आइसकेका छन् । ‘यो टोलीले काम थालिसकेको छ,’ प्रवक्ता पौडेलले भने, ‘दुवै कम्पनीका प्राविधिक टोली आइसकेकाले अब कामले गति लिनेछ ।’ सुरुङ निर्माणको काम सुरु भएपछि प्रगति बढ्दै जाने उनले दाबी गरे ।

अहिलेको टोलीमा अफिस म्यानेजर, सुरुङ इन्जिनियर, सडक र पुल निर्माणसम्बन्धी इन्जिनियर सम्मिलित छन् । ठेक्का सम्झौताअनुसार पहिलो ६ महिनामा सुरुङ डिजाइनको काम सक्नुपर्नेछ । सुरुङ ईपीसी ९इन्जिनियरिङ प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन० मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सर्भे र डिजाइनको काम निर्माण कम्पनी आफैंले गर्नुपर्छ । गत वैशाख ३१ मा ठेक्का सम्झौता भएको हो । पोली चङ्दाले धेद्रेदेखि लेनडाँडासम्मको ३।०३ किमि सुरुङ निर्माण गर्न २८ अर्ब ५३ करोड रुपैयाँमा ठेक्का पाएको छ । दोस्रो प्याकेजमा पूर्वयोग्यता परीक्षण ९पीक्यू० प्रक्रियामा एउटा मात्र कम्पनी छनोट भएको भन्दै लेखा समितिमा उजुरी परेको थियो । जसको विवाद नटुंगिँदै सेनाले ठेक्का प्रक्रिया अघि बढाएको हो ।

पहिलो प्याकेजमा चाइना स्टेटले भने छोक्रेडाँडादेखि धेद्रेसम्मको ३।३५५ किमि लामो सुरुङ निर्माण गर्नुपर्नेछ । यसको ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ । २०८०र८१ भित्र आयोजना सम्पन्न गर्नुपर्ने छ । दुवै प्याकेजमा ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको हो । कोरोनाको जोखिम कायमै रहे पनि स्वास्थ्य सावधानी अपनाउँदै काम निरन्तर भइरहेको प्रवक्ता पौडेलले बताए । सेनाले यो आयोजना निर्माण व्यवस्थापनको जिम्मा २०७४ जेठमा लिएको हो । ७२।५ किमि लामो यो सडकमा १०।५९ किमि लामा ८७ वटा पुल बन्नेछन् ।
 

धेरै पढिएको