नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध :गृहमन्त्री खाँण
News Desk
Aug-02 , 2021 तारिख 12:45 बिहान

काठमाडौँ - नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा उनले सो कुरा उल्लेख गरेका हुन् ।  गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवनरक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।

बैठकमा शनिबार राति सिन्धुपाल्चोकको हेलम्बु बजारमा आएको बाढीले चनौटे पुल बगाउँदा सडक सञ्जाल अवरुद्ध भएको भन्दै तत्काल वैकल्पिक पुलको व्यवस्था गर्नुपर्ने बताइएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सहज रुपमा खाद्यान्न र औषधिजन्य सामान ढुवानीको व्यवस्था मिलाउनुपर्ने, बाढीपहिराले क्षति पुर्‍याएको सडक आवागमन सहज बनाउन तीन तहका सरकारी निकायबीच समन्वय गर्न बैठकमा निर्देशन दिइएको छ ।

बाढीपहिराले क्षति पुर्‍याएको सडक पहुँच निर्माणका लागि केन्द्रले अग्रसरता लिनुपर्ने र आवश्यक बजेट व्यवस्थापनका लागि सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । तुइन हटाएर झोलुंगे पुल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने गृहमन्त्री खाँणले बताए । बैठकमा गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललगायत उपस्थिति रहेको थियो ।

धेरै पढिएको