धरानमा फागुन दोस्रो साता कर्पोरेट गल्फ
News Desk
Jan-31 , 2022 तारिख 11:37 बिहान

काठमाडौँ — १७ माघ २०७८    

काठमाडौँ , धरानमा आगामी फागुन १३ र १४ मा एनसेल बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता हुने भएको छ । आयोजक बाह्रखरी मिडियाले आइतबार धरानस्थित गल्फ कोर्समा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले अघिल्ला प्रतियोगितामा धेरै खेलाडीलाई सहभागी गराउन नसकेकाले यसपटक भने त्यस्तो नहुने बताए । ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागी गराउन समस्या हुने भएकाले दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको उनको भनाइ थियो । प्रतियोगितामा विभिन्न विधामा खेलाडी पुरस्कृत हुनेछन् । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको जानकारी दिँदै उनले यसको आकर्षण गोल्डेन बल पाउने भएको बताए ।

कार्यक्रममा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फसँगै बाह्रखरीसँग मिलेर इकोनोमिक समिट आयोजना गरिएको बताए । ‘उद्योग संगठनमा आर्थिक सम्मेलन गर्नेछौं । हामी प्रदेशका निजी क्षेत्रका मुद्दा उठान गर्नेछौं,’ उनले भने, ‘गफ मात्रै नगरेर नीतिमा सहयोग पुग्ने गरी अघि बढ्नेछौं ।’ पूर्वअर्थसचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फ मात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल पनि गर्न लागेको बताए । इकोनोमिक समिटमा कार्यपत्र प्रस्तुतिका सम्बन्धमा जानकारी दिँदै उनले यस कार्यक्रमले अर्थतन्त्रको रूपान्तरणका लागि सहयोग पुगोस् भन्ने लागेको बताए । युवा व्यवसायी तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठले पूर्व क्षेत्र उद्यमीको केन्द्र रहेको बताउँदै आर्थिक सम्मेलन समृद्धिको इन्जिन भएको बताए ।

व्यवसायी तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृुद घिमिरेले सगरमाथाको काखमा गल्फ गर्नु नै ठूलो सफलता भएको बताए । ‘बाह्रखरीले सगरमाथाको काखमा गल्फ आयोजना गर्ने भन्दा हामीलाई अनौठो लागेको थियो । एउटा मिडियाले खेललाई आधार बनाएर एउटा प्रदेशको समृद्धिमा टेवा पुर्‍याउनका लागि गरेको सहयोग प्रशंसनीय छ,’ उनले भने ।

धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूले यस्तो राम्रो कार्यक्रम आयोजना गरेर यस क्षेत्रकै गरिमा बढाइदिने काम गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । धरानमा गल्फ कोर्स ब्रिटिसहरूले सुरु गरेका थिए । बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले आर्थिक क्षेत्रसँगको सहकार्यका लागि कार्यक्रम आयोजना गरिएको बताए ।     

( कान्तिपुर दैनिक )