News Desk
काठमाडौँ — २७ माघ २०७८
काठमाडौँ , रविशंकर पासवानको दुई गोलसँगै पुलिसलाई रेलिगेसन टार्ने अभियानमा रहेको च्यासल युवा क्लबमाथि २–१ को जित निकाल्दै राहत महसुस गरेको छ । दोस्रो जितसँगै पुलिस रेलिगेसन क्षेत्रभन्दा ५ अंक माथि उक्लिएर शीर्ष दसमा पुगेको छ । पाँच अंक मात्रै जोडेको च्यासल भने छैटौं हार बेहोर्दै रेलिगेसन क्षेत्रमा यथावत् रह्यो । च्यासलका १९ जना खेलाडीलाई कोरोना संक्रमण भएपछि त्यही दिन स्थगन गर्दै बुधबार दशरथ रंगशालामा सञ्चालन गरिएको नवौं चरणको अन्तिम खेलमा पुलिसले रविको अनपेक्षित गोलमा ३७ औं मिनेटमा अग्रता लिएको थियो । उनले नरकुमार राईको पासमा पेनाल्टी क्षेत्रभित्रबाट क्रस गरेको बलले सिधै ‘सेकेन्ड बार’ मा जाली चुम्न पुगेपछि पुलिस १–० ले अगाडि बढेको थियो । पहिलो हाफमा पुलिस केही राम्रो देखिएको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको च्यासलले मोउसा अबगनाले पेनाल्टीमार्फत ५३ औं मिनेटमा गोलसँगै १–१ को बराबरी गर्यो । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई फउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो ।
जसमा मोउसाले सहजै गोल गर्दै च्यासललाई खेलमा फर्काए । त्यसपछि च्यासलले आक्रामक खेललाई निरन्तर राख्यो । पुलिसका डिफेन्सले आफ्नै क्षेत्रमा विपक्षी खेलाडीहरूलाई बेवास्ता गरिरहेका बेला च्यासलले केही राम्रा अवसर सिर्जना गर्यो । खेलमा च्यासल हाबी भइरहेकै समयमा रविले दोस्रो गोल गर्दै पुलिसलाई ७० औं मिनेटमा २–१ को अग्रता दिलाए । उनले त्यसका लागि सुमन लामाको चलाखीपूर्ण पास उपयोग गरेका थिए । फेरि पछाडि परे पनि च्यासलले आक्रामक खेललाई कायमै राख्यो । च्यासलका डिफेन्डर कमल श्रेष्ठको कर्नरमा अभिषेक लिम्बूले ८३ औं मिनेटमा हेडद्वारा प्रहार गरेको बललाई तेज तामाङले गोललाइनबाट बाहिर फाल्दै पुलिसको संकट टारेका थिए । लगत्तै कमलकै कर्नरमा अभिषेकको हेडरमा बल बारमा लागेर फर्केको थियो । विकास मोग्लियाले ८७ औं मिनेटमा आकर्षक रूपमा उपलब्ध गराएको बललाई ‘सिक्स यार्ड बक्स’ नजिक अनमार्क रहेका कर्ण लिम्बूले सिधै गोलकिपर शत्रुघन चौधरीको हातमा दिँदा च्यासलले अंक जोड्ने अर्को अवसर खेर फालेको थियो । मैदानमा प्रवेश गरेलगत्तै पाएको उक्त अवसरमा अनुभवी फरवार्ड कर्णलाई बल रोक्दै केही समय लिएर वा गोलकिपर मात्रै अगाडि रहेको अवस्थामा दायाँबायाँ प्रहार गर्ने अवसर थियो । तर, उनको फितलो प्रहार सिधै गोलकिपरको हातमा पुग्यो ।
च्यासललाई इन्ज्युरी समयमा पनि भाग्यले साथ दिएन । उसका यानिक केत्चाले पेनाल्टी क्षेत्र बाहिरैबाट सशक्त रूपमा प्रहार गरेको बल पुलिसका डिफेन्डर अजित भण्डारीको ढाडमा लागेपछि गोलपोस्ट छुँदै बाहिरिँदा च्यासलले फेरि बराबरीको अवसर गुमाएको थियो । ‘थुप्रै अवसर पाएको हो तर ती अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा हार्नुपर्यो,’ च्यासलका टेक्निकल डाइरेक्टर ली मेन्सनले भने, ‘हामीलाई रेलिगेसन टार्ने चुनौती छ । यसका लागि हातमा अझै चार खेल छ । गत सिजन १७ अंक जोडेको टिम अंक तालिकाको मध्य भागमा रहेको थियो । त्यसैले यसपालि पनि गणितीय रूपमा हामीलाई त्यो अवसर छ । मुख्य समस्या पाएका गोलका अवसरहरू उपयोग गर्न नसक्नु नै हो ।’ फुटबल एकेडेमी ‘काठमाडौं किकर्स’ मा प्रशिक्षण दिइरहेका उनले मुख्य प्रशिक्षक बालगोपाल साहुखल निलम्बनमा रहेकाले पुलिसविरुद्धको प्रतिस्पर्धामा ‘टचलाइन’ सम्हालेका थिए । पुलिसका प्रशिक्षक अनन्तराज थापाले भने, ‘हामीलाई खासै समस्या (रेलिगेसन) थिएन । तर, दबाब बढिरहेको थियो । फुटबलमा यस्तो चलिरहन्छ । हामीले अबका चार खेलमा अझै राम्रो गर्नुपर्छ ।’ अर्को विभागीय टिम एपीएफ र पुलिसको समान १० अंक भएको छ । तर, धेरै गोल गरेको आधारमा एपीएफ अगाडि छ । पुलिसभन्दा पछाडि जावलाखेल (८ अंक), ब्रिगेड ब्वाइज (६), च्यासल (५) र फ्रेन्ड्स (३) छन् । त्यसलै बाँकी खेलमा रेलिगेसन टार्ने होडमा चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।
( कान्तिपुर दैनिक )