यू–१६ क्रिकेट आजदेखि
News Desk
Feb-13 , 2022 तारिख 12:41 बेलुका

लुम्बिनी —  ०१ फागुन २०७८   

लुम्बिनी , रूपन्देहीमा आइतबारदेखि खड्गप्रसाद गौचन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको यो चौथो संस्करणको हो । फाइनल फागुन ८ मा हुनेछ । स्व. खड्गप्रसाद पूर्वराष्ट्रिय क्रिकेटर शक्ति गौचनका बुबा हुन् । स्टार क्रिकेट एकेडेमी शक्तिले सञ्चालन गर्दै आएका छन् । शक्तिले पिताको स्मृतिमा चार वर्षदेखि प्रतियोगिता गर्दै आएका छन् । उनले भने, ‘नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुग्ने भएकाले प्रतियोगिता सुरु गरेका हौं । यसअघि खेलेका खेलाडी राष्ट्रियस्तरका खेल खेल्ने भइसकेका छन् ।’

भैरहवास्थित सिद्धार्थ रंगशाला र दाङको लमहीस्थित देउखुरी क्रिकेट स्टेडियममा हुने प्रतियोगितामा ८ टिम सहभागी छन् । १० टिमको सहभागिता गराउने लक्ष्य रहे पनि यसपालि पोखरा र काठमाडौंको टिम ल्याउन नसकिएको शक्ति गौचनले बताए । ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काशी नोबल एकेडेमी, स्टार क्रिकेट एकेडेमी, न्यू मुन एकेडेमी र दमकडा क्रिकेट एकेडेमी तथा समूह ‘बी’ मा धनगढी क्रिकेट एकेडेमी, देउखुरी क्रिकेट एकेडेमी, न्यू होराइजन स्पोर्ट्स क्लब र पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर छन् । ‘ए’ का खेल सिद्धार्थ रंगशाला र ‘बी’ समूहसहित सेमिफाइनल र फाइनल देउखुरी स्टेडियममा हुनेछ ।               

( कान्तिपुर दैनिक )