अर्जेन्टिना र फ्रान्स बिजयी
News Desk
Nov-27 , 2022 तारिख 01:03 बेलुका

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो । जीतसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ ।

आजको खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।
 

फ्रान्स बिजयी
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ ।

दोहास्थित रंगशाला ९७४ रंगशालामा आज भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गरेको हो । डेनमार्कविरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई गोल गरे । खेलको दोस्रो हाफको ६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसको केहीबेरमा नै डेनमार्कले बराबरी गोल गर्न सफल भयो । खेलको ६८औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत् गोल गर्दै खेललै १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ८६औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ । यसै समूहमा रहेका अष्ट्रेलियासँग तीन तथा डेनमार्क र ट्युनिसियाको समान १-१ अंक छ ।

धेरै पढिएको