टी–२० क्रिकेटमा 'स्पट फिक्सिङ'का पर्याप्त प्रमाण र आधार भेटिए सीआईबीको दाबी
News Desk
Jan-22 , 2023 तारिख 04:02 बेलुका

काठमाडौँ । टी–२० क्रिकेटमा 'स्पट फिक्सिङ' भएको प्रमाण र आधार भेटेको  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको दाबी छ । पुस ९ देखि २७ गतेसम्म भएको खेलामा स्पट फिक्सिङ भएको आधारहरु देखिएको सीआईबीले जनाएको हो ।

फिक्सिङको आशंका भएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखाएको छ ।

सीआईबीका एसपी सन्जय थापाले क्रिकेट खेलसँग सम्बन्धित व्यक्तिहरुबाट स्पट फिक्सिङमा संलग्न भएको सम्भावना देखिएको बताए । ‘अहिलेको अनुसन्धानले स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखिन्छन्,’ एसपी थापाले इकान्तिपुरसित भने, ‘थप अब समितिले प्रतिवेदन बुझाएपछि मात्रै भन्न सकिन्छ । ’

उनले खेलसँग जोडिएका व्यक्तिहरुको संलग्ना देखिएकाले ठ्याक्कै यही व्यक्तिहरु हुन् भनेर किटानी अहिले नै गर्ने बेला नभएको बताए । ‘अब प्रतिवेदनले अन्तिम रुप दिएपछि मात्रै यो यो मानिसहरु संलग्न भएका हुन् भन्ने देखिन्छ,’ उनले भने ।