१० राष्ट्रबीच हुने एसिसी प्रिमियर कपमा नेपाल पनि खेल्ने, विजेताले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने
News Desk
Mar-19 , 2023 तारिख 05:29 बेलुका

 नेपालसहित काठमाण्डौं । आउँदो वैशाखमा नेपालमा एसिसी प्रिमियर कप हुने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको तयारीमा जुटेको छ। पछिल्लो समय कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप-२ को दुई त्रिकोणात्मक सिरिज आयोजना गरेको नेपालले यसपटक भने दुई मैदानमा एकदिवसीय फर्म्याटमा खेलाइने प्रिमियर कप आयोजना गर्दैछ।  प्रतियोगिता वैशाख ११ मा सुरू भएर वैशाख २५ मा सकिनेछ। प्रतियोगितामा नेपालसहित १० राष्ट्रबीच प्रतिस्पर्धा हुँदैछ। 

समूह ‘ए’ मा नेपलासहित कुवेत, कतार, साउदी अरेबिया र युएई छन्। समूह ‘बी’ मा बहराइन, हङकङ, मलेसिया, ओमान र सिंगापुर छन्।  प्रतियोगितामा समूह चरण, सेमिफाइनल र फाइनल गरी २४ खेल हुनेछन्। 

साउदी अरेबिया र बहराइन एसिसी च्यालेन्ज कपको विजेता र उपविजेताको रुपमा प्रिमियर लिगमा छनोट भएका थिए।  प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ। एसिया कप पाकिस्तानमा हुने बताइए पनि भारतले पाकिस्तानमा गएर नखेल्ने भनेकाले कुन स्थानमा हुने अझै टुंगो छैन। 

एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।