भारतविरुद्ध नेपालको सानदार  प्रदर्शन
News Desk
Sep-05 , 2023 तारिख 06:41 बेलुका

श्रीलंका । एसिया कप क्रिकेटमा नेपालले खेल हारे पनि भारतविरुद्ध सानदार  प्रदर्शन गर्‍यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८।२ ओभरमा २ सय ३० रन बनाउन सफल भयो । ओपनिङ ब्याटिङमा पुनः एकपल्ट दरिलो साथ पाएपछि भारत जस्तो सशक्त टोली विरुद्ध राम्रो योगफल नेपालले निकाल्यो । 

पाकिस्तानसँग ब्याटिङ गर्दा दबिएको नेपालले पालेकेले क्रिकेट रंगशालामा भारतविरुद्ध खुलेर ब्याटिङ गरेसँगै  सुपरस्टार खेलाडी रहेको भारतविरुद्ध नेपालले ब्याटिङमा साहस देखाएको भन्दै सर्वत्र चर्चा कमायो  ।

खेलमा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई उत्कृष्ट सुरुआत दिलाउदै १० ओभरभित्र ६५ रन जोडेर राम्रो सुरुआत गरे ।  कुशल र आसिफ जस्तै नेपालका अन्य ब्याटरले पनि खुलेर खेले । सोमपाल कामी एकदिवसीय क्रिकेटमा आफ्नो तेस्रो अर्धशतक बनाउन २ रनले चुकेका थिए । मोहम्मद सामीको बलमा इशान किसनले डाइभिङ क्याच लिएर सोमपाललाई आउट गरे । सोमपाल क्रिजमा टिक्दासम्म नेपालले २ सय ५० रनभन्दा माथिको स्कोर बनाउने निश्चित जस्तै देखिएको थियो । तर उनी आउट भएपछि नेपालको बाँकी दुई विकेट झर्न धेरै बेर लागेन तुरुन्तै झर्यो।

दीपेन्द्रसिंह ऐरीले पनि भारतविरुद्ध २५ बलमा २९ रन बनाए ।  कुशल र सोमपालले भारतसँग सर्ट बलमै छक्का प्रहार गरेका थिए भने आसिफले संयमता देखाउँदै ब्याटिङ गरेपछि नेपालले राम्रो लक्ष्य तेर्स्याएको थियो । आफ्ना प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराहबिना खेलेको भारतले नेपालले यो किसिमको लक्ष्य तेर्स्याउला भनेर सम्भवतः सोचेको थिएन । 

कुशल र आसिफ दुवैले १ रनमा जीवनदान पाएका थिए । मोहम्मद सामीले फालेको पहिलो ओभरको अन्तिम बलमा पहिलो स्लिपमा श्रेयस ऐरले क्याच छाड्दा दुई रन भएको थियो । दोस्रो ओभरको पहिलो बलमा मोहम्मद सिराजलाई प्रहार गर्नेक्रममा आसिफ शेखले कभरमा क्याच दिन पुगेका थिए । तर, विराट कोहलीले हातैमा आएको क्याच फुत्काए । अर्को जीवनदान पुनः कुशलले पाएका थिए । सामीको लेगसाइडमा गएको बलमा कुशलको प्रहार विकेटकिपर इशान किसनले फुत्काएका थिए ।

कुशलले आक्रामक रूपमा खेलेका थिए । छैटौं ओभरमा कुशलले सिराजको बलमा गरेको प्रहार मैदानबाहिर रोडछेउ कटेको थियो । ६ रन बनाएपछि कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो १ हजार रन पूरा गरेका थिए । रोहित र आसिफपछि एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने उनी तेस्रो खेलाडी हुन् । भारतीय बलिङविरुद्ध डटेर खेल्दै आसिफले नेपाली इनिङ्स तानेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको दसौं अर्धशतक हो । नेपालबाट उनले सबैभन्दा बढी अर्धशतक बनाएका छन् । नेपालले टेस्ट राष्ट्रविरुद्ध पाँचौं पटक खेल्दै गर्दा आसिफले दोस्रोपल्ट अर्धशतक बनाएका हुन् ।

कुशल र आसिफले नै जिम्बावेविरुद्ध जुनमा हरारेमा भएको विश्वकप छनोटमा पहिलो विकेटमा ३२ ओभरभित्र १ सय ७१ रनको साझेदारी गरेका थिए । नेपालको मात्र नभई टेस्ट राष्ट्रविरुद्ध एसोसिएट राष्ट्रको पहिलो विकेटमा त्यो सबैभन्दा ठूलो साझेदारी थियो । कुशल त्यो खेलमा शतक बनाउन १ रनले चुकेका थिए भने आसिफले ६६ रन बनाएका थिए ।

कुशल र आसिफले पहिलो विकेटमा तीनपटक शतकीय साझेदारी निभाइसकेका छन् ।  जुन हिसाबले कुशल र आसिफले भारतविरुद्ध ब्याटिङ गरे, त्यो कुनै शतकीय साझेदारीभन्दा कम थिएन ।