News Desk
काठमाडौँ। चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियाको सामना गर्ने क्रममा ७ रेकर्ड कायम गरेको छ । मंगोलियालाई २७३ रनले हराएको नेपालले चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाए नेपालले मंगोलियालाई १३।१ ओभरमा ४१ रनमा अलआउट गर्यो । मंगोलियाका एक ब्याट्सम्यानले मात्र दोहोरो सङ्ख्यामा रन बनाउन सके । मंगोलियाका दाबासुरेनले सर्वाधिक १० रन बनाए । मंगोलियाले अतिरिक्त रूपमा २३ रन पायो ।
नेपालका लागि बलर करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले २–२ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो । यो टी(२० आईमा अहिलेसम्म बनेको ठूलो स्कोर हो ।
यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गरेका हुन् ्र
नेपालका लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका पनि हिर्काएका थिए । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे । यस्तै दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । उनले मात्र ९ बलमा अर्धशतक बनाएका उनी टी(२० आईमा सबभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान बनेका छन् । यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।
कप्तान रोहित पौडेलले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भए ।
नेपालको नाममा अर्को सर्वाधिक छक्काको रेकर्ड रहेको छ। ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेका थिए । यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो । ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेका थिए । नेपालले मंगोलियालाई २७३ रनले हरायो । टी(२० आईमा यो नै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो । यस संगै नेपालले टी(२० आई क्रिकेटमा ७ वटा कीर्तिमान रेकर्ड बनाएको छ ्र
१९औं एसियाडमा अन्य खेलहरुमा नेपालले निराशाजनक प्रदर्शन गरिरहँदा क्रिकेटबाट पदकको आशा छ ।कप्तान रोहितले पनि नेपालदेखिनै पदक जित्ने लक्ष्यका साथ आएको र त्यही अनुसार खेल्दै जाने बताए ।‘हाम्रो योजना यहाँ आउनुअघि नै जसरी भए पनि मेडल जित्ने नै हो ।’
नेपालले पदक जित्नका लागि कम्तीमा पनि दुई टेष्ट राष्ट्रलाई हराउनुपर्नेछ । क्वार्टर फाइनलमा पुगेमा नेपालले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमध्ये एक टिमसँग खेल्नु पर्ने छ ।भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित वरियताको आधारमा अफगानिस्तानले सिधै क्वाटरफाइनल खेल्ने भए पनि राष्ट्रिय टिम विश्वकपको तयारीमा रहेकाले उनीहरुले दोश्रो टिमलाई चीन पठाएका छन् ।
त्यसले गर्दा पनि नेपाली टिमले पदक जित्ने लक्ष्य राखेको हो । केही समयअघि मात्रै एसिया कपमा भारत र पाकिस्तानको सिनियर टिमसँग खेल्दै उत्कृष्ट प्रदर्शन गरेको नेपालले एसियाडमा पनि त्यही प्रदर्शन दोहोर्याउँदै पदक जित्ने लक्ष्य राखेको छ ।