News Desk
काठमाण्डौं । एसियाड क्रिकेटमा भारतसँग पराजित हुँदै नेपाल क्वाटरफाईनलमै रोकिएको छ । हाङझाउ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतसँग नेपाल २३ रनले पराजित भएको हो।मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १७९ रन जोड्यो।
नेपालका ओपनरद्वय कुशल भुर्तेल २८ रन र आसिफ शेख १० रनमा आउट हुदाँ कुशल मल्लले २२ बलमा २ चौका र २ छक्काको मद्दतमा २९ रन जोडे। रोहित पौडेल ३ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्का हिर्काउँदै ३५ रन बनाए। ऐरीले १४ ओभरमा शिवम् दुवेलाई लगातार ३ छक्का प्रहार गरेका थिए।
सोमपाल कामी ७, गुल्सन झा ६ रन र सन्दीप लामिछाने ५ रनमा आउट भए। करण केसीले १३ बलमा नटआउट १८ रन जोड्दा १ चौका र २ छक्का प्रहार गरे। खेलमा नेपालले भारतविरूद्ध १४ छक्का र ११ चौका हिर्काएको थियो। बलिङमा भारतका रवि बिश्नोइ र आवेश खानले समान ३ (३ विकेट लिए। अर्शदीप सिंह २ विकेट लिन सफल रहे।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन जोड्यो। भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे। उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। शतक प्रहार गरे लगत्तै जैशवाल दीपेन्द्रको बलमा रोहितबाट विकेट पछाडि क्याच भए।यस्तै रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे।
भारतका कप्तान रूतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरे। भारतले ९।५ ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रन जोडेको थियो।यस्तै तिलक बर्मालाई सोमपाल कामीले २ रनमा बोल्ड गर्दा सन्दीप लामिछानेले जितेश शर्मालाई ५ रनमा आउट गरे।बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए। यो नेपाल र भारतबीचको पहिलो टी २० अन्तर्राष्ट्रिय खेल हो। यसअघि नेपालले एसिया कपमा भारतसँग पहिलो एकदिवसीय खेल खेलेको थियो।