News Desk
काठमाडौं । स्पेन, स्कटल्याण्ड र टर्की युरोकप २०२४ का लागि छनोट भएका छन् । आइतबार राति भएको समूह ए को खेलमा स्पेनले नर्वेलाई १–० ले पराजित गरेपछि स्पेनसहित स्कटल्याण्ड पनि यस समूहबाट छनोट भएको हो ।
नर्वेको घरेलु मैदानमा स्पेनलाई जिताउन गाभीले खेलको ४९औं मिनेटमा गोल गरेका थिए । जितपछि स्पेन ६ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा उक्लँदै युरोकपमा छनोट भएको हो । दोस्रो स्थानमा रहेको स्कटिस टोलीले पनि समान खेलबाट १५ अंक बटुलेको छ । गोलअन्तरमा स्पेन अगाडि रहेको हो ।
७ खेल खेलिसकेको नर्वेको १० अंक मात्र रहेको छ । अब नर्वेले एक खेल मात्र खेल्न बाँकी छ ।
यस्तै समूह डीको खेलमा आइतबार राति भएको खेलमा लात्भियालाई ४-० ले पराजित गरेको टर्कीले ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ । रहदै एक खेल अघि नै युरोकपमा स्थान पक्का गरेको छ ।
समूह डी कै अर्को खेलमा वेल्सले क्रोएसियालाई २-१ ले हराएर छनोट हुने सम्भावना कायम राखेको छ । वेल्सका लागि ह्यारी विल्सनले दुवै गोल गरे । क्रोएसियाका मारियो पासालिकले एक गोल फर्काए ।
जितपछि ६ खेलबाट १० अंक जोडेको वेल्स क्रोएसियालाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ ।
यसैगरी समूह आईको खेलमा एन्डोरलाई ४-० ले हराएर रोमानिया शीर्ष स्थानमा उक्लेको छ । रोमानियाको ८ खेलबाट १६ अंक छ । स्विट्जरल्याण्ड ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ ।