एसियन पारा गेम्समा नेपाललाई पदक दिलाएकी पलेशाको स्वदेशमा भव्य स्वागत
News Desk
Oct-30 , 2023 तारिख 02:08 बेलुका

काठमाडौँ ।  चीनको हाङचउमा भएको चौथो एसियाली पारा खेलकुदमा नेपाललाई कांस्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई आइतबार अन्तरराष्ट्रिय विमान स्थलमा  भव्य स्वागत गरिएको छ ।  ऐतिहासिक पदक जितेर स्वदेश फर्केकी पलेशासहित पारा तेक्वान्दो टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, महासचिव दीपराज गुरुङ, खेलाडी, प्रशिक्षक, परिवारजनले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई स्वागत गरिएको थियो ।

सो अवसरमा पदक विजेता पलेशाले देशका लागि पारा एसियाडमा पहिलो पदक जित्नु पाउनु आफनो लागि सौभाग्य भएको प्रतिकृया दिदै भनिन् ‘मेरो टार्गेटचाहिँ गोल्ड मेडल थियो । सिल्भर मेडल फाइटमा पनि थोरैले पराजित भएँ । दुःख पनि लाग्यो । तर, पदक तालिकामा नेपाललाई शून्यको अवस्थाबाट जोगाउन पाएकोमा खुसी भएँ ।’

उनले अनुभव सुनाइन्, ‘म पढ्न चाइना जाँदा पढाइ र ट्रेनिङलाई सँगै लैजाने सोचेको थिएँ । तर सोचेभन्दा गाह्रो भयो । यहाँ हुँदा परिवार, गुरु सबैले सहयोग गर्नुहुन्थ्यो । त्यही भएर सजिलो थियो । चीनमा सबै आफैंले गर्नुपर्ने भएपछि गाह्रै भयो । तर, मैले हार मानिनँ । जसरी पनि पढाइसँगै ट्रेनिङलाई समय मिलाएँ । गेमको दिन नर्भस थिएँ । किनकि धेरै समयपछि रिङमा खेल्न गइरहेको थिएँ । जुनसुकै स्थितिमा पनि जित्नुपर्छ भन्ने चाहिँ थियो । नेपालले एसियन पारा गेम्समा अहिलेसम्म पदक जितेको थिएन । त्यसले गर्दा पनि आत्मबल बढ्यो ।’

पलेशा सांघाइस्थित तोङ्जी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनियरिङको स्नातक तहमा अध्ययनरत छन् ।उनी सांघाइबाटै एसियाली पारा खेलकुदमा सहभागी हुन हाङचउ गएकी हुन् । कात्तिक ७ मा भएको महिला के–४४ क्याटगोरीको ५७ केजीमुनि क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनल पुगेकी थिइन् । सेमिफाइनलमा काजकिस्तानकी कमिल्यासँग पराजित भए पनि रिपिचेजमा वाइ पाएपछि पलेशाको कांस्य पदक पक्का भएको थियो ।

पलेशाले जितेको पदक पारा एसियाली खेलकुदमै नेपालले जितेको पहिलो पदक हो । नेपालले पहिलो संस्करणदेखि नै एसियाली पारा खेलकुदमा सहभागिता जनाए पनि तेक्वान्दो भने चौथो संस्करणदेखि मात्र समावेश गरिएको हो ।

राखेप सदस्य–सचिव घिसिङले पलेशाबाट राष्ट्रले अझ धेरै आशा गरेको बताए । उनले भने, ‘पलेशा सम्झावना बोकेकी खेलाडी हुन् । उनीबाट राष्ट्रले अझ धेरै आशा गरेको छ । अहिले पदक जितेर पलेशाले खुड्किलो मात्र उक्लेको हो । चुचुरोमा पुग्न अझै बाँकी छ । पारा ओलम्पिकमा पदक जितेर अर्को इतिहास रच्न बाँकी छ । त्यसको तयारी लागि राष्ट्रिय खेलकुद परिषद्ले कुनै कसर बाँकी राख्ने छैन । यो मेरो प्रतिबद्धता हो ।’

पलेशाका पिता प्रदीपले छोरीले पदक जितेकामा आफुलाई गर्व अनुभूति भएको बताउँदै फरक क्षमताको सन्तानलाई समाजबाट लुकाउन नहुने धारणा व्यक्त गरे ।