मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश 
News Desk
Oct-31 , 2023 तारिख 10:20 बेलुका

काठमाण्डौ । आइसिसी टी २० विश्वकपअन्तर्गत एसिया छनोटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले जित निश्चित गरेसँगै समूहको अर्को टिम ओमानले पनि अन्तिम चारमा स्थान पक्का गर्‍यो। नेपाल र ओमान दुवैले मलेसिया र सिंगापुरलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। मलेसिया र सिंगापुर भने अन्तिम खेलअघि नै बाहिरिएका छन् ।समूह ुएु मा लगातार दुई जित निकाल्दै नेपालले समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो। अब नेपाल र ओमानबीच बिहीबार हुने खेलबाट समूह विजेताको टुंगो लाग्नेछ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले मलेसियाले दिएको १६६ रनको लक्ष्य १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। यो नेपालले टी(२० अन्तर्राष्ट्रियमा पार गरेको अहिलेसम्मकै ठूलो स्कोर हो। यसअघि नेपालले गत साता युएईविरुद्ध १६५ रनको लक्ष्य पूरा गरेको थियो।

नेपालको जितमा कुशल मल्लले अर्धशतक प्रहार गरे। उनले ६५ रनको योगदान गर्ने क्रममा ३४ बलमा २ चौका र ७ छक्का प्रहार गरे।त्यसअघि ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए। ५।३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

अर्का ओपनर आसिफ शेख २३ बलमा १ चौका र २ छक्काको मद्दतमा ३२ रन जोडे। कप्तान रोहित पौडेलले २ रन मात्र जोड्न सके। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन जोड्यो।उत्कृष्ट सुरुवात गरेको मलेसियाले पावर प्लेमा १ विकेटको क्षतिमा ६० रन जोडेको थियो। त्यसपछि भने नेपालले मलेसियाको रन रोक्ने कोशिस गरेको थियो। 

नेपालका लागि पहिलो विकेट अभिनास बोहराले ५।५ ओभरमा लिए। उनले मलेसियाका ओपनिङ ब्याट्सम्यान जुबाइदी जुल्किफीलाई २४ रनमा कुशल मल्लबाट २४ रनमा क्याच गराए। अर्को ओभर नेपालले मलेसियाका कप्तान अमहद फइजलाई ३ रनमा रनआउट गर्‍यो। दुई रन लिने चक्करमा रहेका उनलाई करण केसीको थ्रोइङमा विकेटकिपर आसिफले रनआउट गरे। त्यसपछि सन्दीप लामिछानेले विरनदीप सिंहलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे। कप्तान रोहित पौडेलले शर्भिन मुनियान्डीलाई १३ रनमा क्याच गरे। त्यसअघि पाँच बलमा रोहितले १५ रन खर्चिएका थिए।१४औं ओभरमा गुल्सन झाले ६८ रन बनाएर खेलिरहेका ओपनर सयद अजिजलाई कुशल भुर्तेलबाट क्याच गराए। मलेसियाका लागि सबैभन्दा बढी रन बनाएका उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे।  गुल्सनले अइनूल अफिजलाई पनि रन आउट गर्न विकेटकिपर आसिफलाई बल दिएका थिए। 

१८औं ओभरमा अभिनासले मोहमद अमिरलाई ८ रनमा बोल्ड गरे। अभिनासले अन्तिम ओभरमा साजरुल इद्रुसलाई कुशल भुर्तेलबाट ७ रनमा क्याच गराउदा फित्रि शामलाई ६ रनमा बोल्ड गरेका थिए।बलिङमा नेपालका अभिनास बोहराले ४ विकेट लिए। अभिनासले ४ ओभरमा २७ रन खर्चिए। सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १-१ विकेट लिए।

सेमिफाइनलमा जित निकाल्दै प्रतियोगिताको फाइनल पुग्ने दुई टिमले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछन्।