अर्जेन्टिना र ब्राजिल फिफा विश्वकप २०२६ को छनोटमा पराजित
News Desk
Nov-17 , 2023 तारिख 03:40 बेलुका

एजेन्सी ।  विश्व विजेता अर्जेन्टिना र ब्राजिल फिफा विश्वकप २०२६ को छनोटमा पराजित भएका छन् । दक्षिण अमेरिकी क्षेत्रको छनोट चरणको खेल अन्तर्गत शुक्रबार बिहान भएकोप्रतिस्पर्धामा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित हुँदा ब्राजिल कोलम्बियासँग २-१  ले स्तब्ध बन्यो। छनोटमा अर्जेन्टिनाको यो पहिलो हार हो । यस हारपछि छनोटमा अर्जेन्टिनाको लगातार चार जितको यात्रामा पनि ब्रेक लागेको छ । अर्जेन्टिनाको ब्युनर्स आयर्समा भएको खेलमा उरुग्वेका रोनाल्ड अराउजोले ४१औं र डार्विन नुनेजले ८७औं मिनेटमा गोल गरे ।

हारका बाबजुत पनि ५ खेलबाट १२ अंक रहेको अर्जेन्टिना अंक तालिकामा शीर्ष स्थानमा कायम छ । यस्तै तेस्रो जित हात पारेको उरुग्वे ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।

यस्तै अर्को खेलमा गाब्रिएल मार्टिनेलीले चौथो मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता जोगाउन सकेन । कोलम्बियाले अन्तिम १५ मिनेटभित्र दुई गोल गर्दै खेल जित्यो । लुइस डियाजले ७५औं मिनेटमा कोलम्बियाका लागप बराबरी गोल गरे । त्यसको चार मिनेटपछि नै डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै कोलम्बियाले खेल जितेको हो ।

जितपछि कोलम्बिया ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । छनोटमा कोलम्बिया अपराजित छ । पराजित ब्राजिलको ५ खेलबाट ७ अंक छ र पाँचौ स्थानमा झरेको छ ।छनोटकै अन्य खेलमा बोलिभियाले पेरुलाई २-० ले पराजित गर्दा चिली र पाराग्वे तथा भेनेजुएला र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् ।

बराबरीपछि भेनेजुएला ५ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । समान ५ अंक रहेको इक्वेडर, पाराग्वे र चिली क्रमशस् छैटौं, सातौं र आठौं स्थानमा छ । पहिलो जित निकालेको बोलिया ३ अंक जोडेर नवौँ स्थानमा छ भने जितिविहन पेरु १ अंकसहित दशौँ स्थानमा छ ।