अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा
News Desk
Nov-17 , 2023 तारिख 03:50 बेलुका

 कोलकाता । अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । दक्षिण अफ्रिकामाथि ३ विकेटको जित हात पार्दै अष्ट्रेलिया फाइनल प्रवेश गरेको हो । बिहीबार भारतको इडेन गार्डेनमा भएको दोस्रो सेमिफाइनल जित्नका लागि दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य पछ्याउदै अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर जित सुनिश्चित गर्यो । उसका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने स्टीभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए ।

अष्ट्रेलियाका लागि महत्वपूर्ण पारी खेल्नुका साथै एकै ओभरमा महत्वपूर्ण दुई विकेट लिएका हेड प्लेयर अफ दि म्याच बने । अष्ट्रेलियाको पारी हेड र वार्नरले राम्रो सुरुवात गरेका थिए । दुवैले पहिलो ६ ओभरमा ६० रन बनाएका थिए । तर थप ७७ रन जोड्दा ५ विकेट गुमाउन पुगेको थियो ।

सातौं ओभरको पहिलो बलमा एडन मार्करमले वार्नरलाई बोल्ड गरे भने अर्को ओभरमा कगिसो रबाडाले मिशेल मार्शलाई शून्यमा पभेलियन फर्काए । लगातार विकेट गुमाएपछि रनको रफ्तार कम भयो र पावर प्लेको १० ओभरमा २ विकेट गुमाएर ७४ रन बनायो । खेलको १५औं ओभरमा जब बवुमाले केशव महराजलाई बल दिए, उनले पहिलो बलमै ट्रेविस हेडलाई बोल्ड गरे । ४८ बलको सामना गरेका उनले ९ चौका र दुई छक्काको मदतमा ६२ रन बनाएका थिए ।

उनले स्मिथसँग तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए ।खेलको २२औं ओभरमा मार्नस लाबृशेनले स्मिथको विकेट लिए । दुई ओभरपछि शमसीले ग्लेन म्याक्सबेललाई आउट गरेपछि अष्ट्रेलियाले १३७ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुुमायो ।त्यसपछिको १० ओभरमा उसले विकेट गुमाएन, रन पनि ३७ मात्र थप्न सक्यो । खेलको ३४औं मिनेटमा स्मिथ आउट भए । अन्तिममा कप्तान प्याट कमिन्सले आठौं विकेटका लागि मिचेल स्टार्कसँग अविजित २२ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई विश्वकपको फाइनलमा पुर्याएका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाको सनकै खराब सुरुवात रह्यो । पहिलो ओभरमै मिचेल स्टार्कले कप्तान तेम्बा बवुमालाई शून्यमा आउट गरे । चार ओभरपछि यो विश्वकपमा सबभन्दा चलेका दक्षिण अफ्रिकी ब्याट्सम्यान किन्टन डिककलाई जोस ह्याजलउडले कप्तान कमिन्सको हातबाट क्याच आउट गराएन । उनले मात्र ३ रन बनाए ।

पावर प्लेमा उसको स्कोर १८र२ थियो । पावर प्ले लगतैको ओभरमा स्टार्कले एडन मार्करमको विकेट लिए भने खर्को ओभरमा ह्याजलउडले रासी भानडेरलाई पभेलियनको बाटो देखाएपछि दक्षिण अफ्रिका दबावमा आयो । किनकि २४ रन जोड्दा ४ विकेट गुमिसकेको थियो । १४ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाएको थियो, पानीले खेल रोकियो । पानी रोकिएपछि झण्डै १ घन्टापछि खेल सुरु भयो र कमिन्सले यो विश्वकपमा सफल बलर एडम जाम्पालाई बलिङमा ल्याए ।१७औं ओभरको पाँचौं बलमा डेभिड मिलरले जाम्पाकै बलमा छक्का हाने र दक्षिण अफ्रिकाको स्कोर ५० रन पुग्यो । मिलर र हेनरी क्लासनले पारी सम्हादै पाँचौं विकेटका लागि ९५ सनको साझेदारी गरे ।

३१औं ओभरमा अष्ट्रेलियाका ट्राविस हेडले साझेदारी तोडे । उनले पहिले क्लासेनको विकेट लिए, अर्को बलमा मार्को जनसेनलाई शून्यमै आउट गरे ।दक्षिण अफ्रिका ४८।५ ओभरमा ११२ रन जोड्दा अलआउट भयो ।

नवौं विकेटका रुपमा आउट हुनुअघि मिलरले शतक पूरा गरे । ११६ बलको समना गरेका उनले १०१ रन बनाए । क्लासेनले ४७ रन जोडेका थिए । अष्ट्रेलियाका मिचेल स्टार्क र कप्तान कमिन्सले ३र३ विकेट लिए भने ह्याजलउड र हेडले २र२ विकेट हात पारे ।