News Desk
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति गौचनले रूपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनको दोस्रो सातासम्म तयार हुने बताएका छन्।
तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधीन मैदानमा रहेका सात वटा पिच फागुनदेखि प्रतियोगिताका लागि योग्य हुने गौचनले जानकारी दिएका हुन्। उनी रंगशालाको ब्राण्ड एम्बासडर हुन्।
गौचनले यो मैदानको उद्घाटन प्रतियोगिता राख्ने योजना रहेको बताए। उनले सन् १९९६ को नेपाली राष्ट्रिय क्रिकेट टोली, सन् २०१४ को राष्ट्रिय टोली र केही अन्य टोलीबीच टी–१० श्रृंखला आयोजना गर्ने योजना रहेको जानकारी दिए।
रंगशालामा क्युरेटर माधव पाठकले काम गरिरहेका छन्। रंगशालामा पेभेलियन र ड्रेसिङलगायतका कोठा निर्माण पनि भइरहेको छ। रंगशालामा तत्कालका लागि दर्शक सिट पाँचहजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइँदैछ। हाल रंगशालामा निर्माण गर्ने क्रममा खराब मौसमले केही प्रभावित भइरहेको छ। मैदानमा घाँस रोप्ने काम भइरहेको छ। केही स्थानमा भने रोपिएका घाँस काट्ने काम भइरहेको छ। फागुनबाट राम्रो पिच तयार हुने क्युरेटर पाठकले बताए। केही दिनमा पिचको काम हुनेछ भने आउट फिल्डको काम पनि शुरु हुनेछ।
रंगशाला एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरको सक्रियतामा बनेको हो । रंगशालामा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता या अन्य खेलको सम्भाव्यता हेर्न क्यानका अध्यक्ष चतुरबहादुर चन्द र क्यानका पूर्वकार्यवाहक सचिव प्रशान्त मल्ललगायतले निरीक्षण गरेका छन्।