News Desk
काठमाडौँ l दक्षिण अफ्रिकामा भइरहेको यू-१९ विश्वकप क्रिकेटमा आज (शुक्रवार) भएको खेलमा नेपाल भारतसँग १३२ रनले पराजित भएको छ।
भारतले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएर १३२ रनले पराजित भएको हो।
नेपालका लागि ओपनर ब्याट्सम्यान दिपक बोहराले २२ रन र अर्जुन कुमालले २६ रन बनाउनुबाहेक कप्तान देव खनालले दोहोरो अंकमा रन बनाए।
यसबाहेक अन्तिम विकेटका लागि अविजित रहँदै आकाश चन्दले ३५ बलमा १८ रन र दुर्गेश गुप्ताले १ छक्का र २ चौकाको मद्दतले अविजित २९ रन बनाए।
नेपालको स्कोर ४८ रन हुँदा पहिलो विकेटका रुपमा दिपक बोहरा १४औँ ओभरमा आउट भए। उनले ३ चौकाको सहायताले २२ रन बनाए।
त्यसपछि कुल स्कोर ६५ रन हुँदा ब्याट्सम्यान उत्तम मगर ८ रन बनाएर २२औँ ओभरमा आउट हुँदा नेपालको दोस्रो विकेट ढल्यो।
२४औँ ओभरमा कुल स्कोर ७१ रन हुँदा ३ चौकाको मद्दतमा २६ रन बनाएका अर्का ओपनर अर्जुन कुमाल पनि तेस्रो विकेटका रुपमा आउट भए।
यसपछि भने कुनै पनि नेपाली ब्याट्सम्यानले क्रिजमा टिकेर भारतीय बलरको सामना गर्न सकेनन् र ‘तिमी जाँदै गर‚ म पनि आउँदै छु’ शैलीमा नियमित अन्तरालमा आफ्नो विकेट प्रतिस्पर्धी भारतीय खेलाडीलाई थमाउँदै पवेलियन फर्किए।
विशाल विक्रम केसी पनि लगत्तै २४औँ ओभरमै जम्मा २ बलमात्र सामना गरेर १ रन बनाउँदै आउट भए।
उनीपछि २५औँ ओभरमा पाँचौँ विकेटका रुपमा दिपक डुम्रे आउट हुँदा नेपालको स्कोर ७४ रनमात्र थियो। ४ बलको सामना गरेका उनी शून्यमै आउट भए।
यसपछि २७औँ ओभरमा नेपालको छैटौँ विकेट खस्यो। १ रनमात्र बनाएर अलराउन्डर गुल्शन झा आउट हुँदा नेपालको स्कोर ७६ रन थियो।
७७ रनको स्कोरमा नेपालको सातौँ विकेटका रुपमा दिपेश कँडेल आउट भए। २८औँ ओभरमा उनी शून्यमा नै आउट भए। यसवेला नेपालले सय रनसमेत बनाउन कठिन देखिएको थियो।
सुभाष भण्डारीका रुपमा नेपालको आठौँ विकेट ३५ ओभरमा ढल्यो। उनी ५ रनमा आउट हुँदा नेपालको स्कोर १०५ रन थियो।
अर्को छेउ सम्हालेका कप्तान देव खनाल ५३ बल खेलेर २ चौकाको सहायताले ३३ रन बनाएपछि आउट भए। नेपालको नवौँ विकेटका रुपमा ३९औँ ओभरमा उनी आउट हुँदा नेपालको स्कोर १२० रन थियो। उनी आउट भएपछि नेपालले सम्मानजनक ब्याटिङ प्रदर्शनको सम्भावना पनि सकिएको थियो।
आकाश चन्द र दुर्गेश गुप्ताले दोहोरो अंकमा रन बनाउँदै नेपालको स्कोर १६५ पुर्याए।
भारतका लागि सौमी पान्डेले ४ विकेट‚ आर्शिन कुलकर्णीले २ विकेट तथा राज लिम्बानी‚ आराध्य शुक्ला र मुरुगन अभिषेकले १/१ विकेट लिए।
यसअघि दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनको मांगाउँ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले सचिन दास र कप्तान उदय सहरनको शतकीय पारीको सहायतामा निर्धारित ५० ओभरमा ५ विकेट मात्र गुमाएर २९७ रन बनायो।
भारतका लागि दासले १०१ बलमा ११ चौका र ३ छक्का हान्दै सर्वाधिक ११६ रन बनाए भने कप्तान उदय सहरनले १०७ बल खेलेर ९ चौका प्रहार गर्दै १ सय रन, आदर्श सिंहले २१, प्रियान्शु मोलियाले १९ र आर्शिन कुलकर्नीले १८ रन बनाए।
चौथो विकेटका लागि सहरन र दासले २१५ रनको कीर्तिमानी साझेदारी गरे।यी दुईले शिखर धवन र सुरेश रैनाले भारतका लागि गरेको चौथो विकेटको साझेदारी भंग गरे।
सन् २००४ मा भएको यू-१९ विश्वकपमा रैना र धवनले १३४ रनको साझेदारी गरेका थिए।नेपालका लागि गुल्सन झाले ३ विकेट लिए भने आकाश चन्दले १ विकेट लिए।
नेपाल अफगानिस्तानलाई समूह चरणको अन्तिम खेलमा रोमाञ्चक तवरबाट पराजित गर्दै सुपर सिक्समा पुगेको हो। सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटको हार खेपेको नेपाल आज दोस्रो खेलमा पनि पराजित भएको छ l