नेपाली महिला टोली वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा
News Desk
Feb-28 , 2024 तारिख 01:29 बेलुका

नेपाली महिला टोली साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ।दोस्रो सेमिफाइनल भिडन्तमा पहिलो हाफमा पछि परेको नतिजा उल्टाउँदै नेपालले  लेबनानलाई २-१ ले हराएर जोर्डनसँग उपाधि भिडन्त पक्का गरेको हो।

जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समयानुसार मध्यराति भएको भिडन्तमा नेपालका लागि सावित्रा भण्डारी साम्बा र प्रीति राईले एक-एक गोल गरे।

तर अग्रता भने लेबननले बनाएको थियो। नेपाली गोलरक्षक अन्जिलासँग तालमेल बिग्रिँदा खेलको ३८औं मिनेटमा पूजा रानाले आत्मघाती गोल गरेकी थीन।

पहिलो हाफसम्म १-० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्किँदै उपाधि यात्रा तय गर्यो। खेलको ७६औँ मिनेटमा सावित्रा भण्डारीले विपक्षी खेलाडीले डी बक्सभित्रबाट क्लियर नगरेको बललाई जाली चुमाइन। यसअघि उनैले प्रहार गरेको सट लेबननी किपरले बचाएकी थीन।

नेपाली मिडफिल्डर प्रीति राईले निर्णायक गोल खेलको इन्जुरी समयको अन्तिम मिनेटमा प्रीति राईले गरिन।

कर्णर बललाई लेबननी बचाएर पठाएको डी बक्सबाहिरबाट उनले प्रहार गरेको सटले जाली चुम्यो। यही गोल नै नेपाली टोलीलाई उपाधि यात्रामा लैजान सफल भयो।

अब नेपालले साविक विजेता जोर्डनसँग यही बिहीबार उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ l