साफ अण्डरसिक्सटिन महिला च्याम्पियनसिप आजदेखि
News Desk
Mar-01 , 2024 तारिख 01:21 बेलुका

साफ अण्डरसिक्सटिन महिला च्याम्पियनसिप आजदेखि नेपालमा सुरु हुँदैछ। यसअघि १५ वर्ष मुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि यू–१६ उमेर समूहमा खेलिन लागेको हो।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र भुटान सहभागी छन। घरेलु मैदानमा नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ।

प्रि-म्याच प्रेस कन्फ्रेन्समा नेपाली अन्डर-सिक्सटिन महिला टोलीका मुख्य प्रशिक्षक चक्र तामाङले घरेलु मैदानमा नेपालले प्रतियोगिता जित्ने दाबी गरेका छन।

नेपाल प्रतियोगिताको साबिक विजेतासमेत हो। सन २०२२ मा बंगलादेशमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो।

सिंगल राउण्डमा हुने प्रतियोगितामा सहभागी प्रत्येक टिमले एक-आपसमा खेल्नेछन। लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन। प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन। प्रतियोगिताको उद्घाटन खेलमा भारत र भुटान आमने-सामने हुनेछन।

घरेलु टोली नेपालले पहिलो खेलमा शनिबार बंगलादेशको सामना गर्नेछ। प्रतियोगिताका सबै खेल दिउँसो ३ बजेदेखि हुनेछन। फाइनल खेल फागुन २७ गते हुनेछ।