साविक विजेता मछिन्द्र फुटबल क्लबले जित्यो केपी ओली कप 
News Desk
Mar-03 , 2024 तारिख 03:29 बेलुका

साविक विजेता मछिन्द्र फुटबल क्लबले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मच्छिन्द्रले पेनाल्टी सुटआउटमा न्युरोड टिम (एनआरटी) लाई ५–४ गोलअन्तरले हराउँदै दोस्रो पटक केपी ओली कपको उपाधि जितेको हो। 

च्याम्पियन भएसँगै मच्छिन्द्रले ११ लाख  जितेको छ। यस्तै उपविजेता एनआरटिले ५ लाख रुपैयाँ पाएको छ। निर्धारित ९० मिनेटको समयमा दुबैतर्फबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको हो। 

सुरुका ४–४ पेनाल्ट‍ी दुबै क्लबका खेलाडीले गोलमा परिणत गरेका थिए। पाँचौ पेनाल्टी हानेका मच्छिन्द्रका देवेन्द्र तामाङले गोल गरेपछि एनआरटीका विवेक गुरुङले पेनाल्टी हाने तर विवेकको पेनाल्टी बारमा लागेर आउट भयो र खेल मच्छिन्द्रले ५–४ ले जित्यो। 

मछिन्द्रले सेमिफाइनलमा भारतको  मानेभञ्ज्याङ फुटबल क्लबमाथि ५–० को सहज जित निकालेको थियो भने एनआरटीले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३–० ले पराजित गरेको थियो।