आयरल्याण्ड ए माथि नेपालले निकाल्यो ३ रनको रोमाञ्चक जित
News Desk
Apr-01 , 2024 तारिख 11:23 बेलुका

नेपाल ए ले तेस्रो टी–२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २–१ ले गुमाएको छ । 

२१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानले १६ रन खर्चेर १ विकेट लिँदै नेपाललाई रोमान्चक जित दिलाए । नेपालको जितमा विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । नारायण जोशी, कमलसिंह ऐरी र रासिद खानले १÷१ विकेट लिए । 

सोमबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । नेपालको जितमा आरिफ शेखले ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनको अविजित इनिङ खेलेका थिए ।   

नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाइसकेको छ । आयरल्याण्ड ए र नेपाल ए बीच अब एकदिवसीय सिरिज हुनेछ । पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।