News Desk
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो खेल जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आज भएको खेलमा एपिएफ क्लबले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पराजित गरेको हो।
यसअघि एपिएफ क्लबले पहिलो खेलमा विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबलाई ३–१ सेटमा पराजित गरेको थियो।
आजको खेलमा एपिएफले शुरुआती दुई सेट २५–२३ र २५–२३ अङ्कले आफ्नो पक्षमा पार्यो। त्यसपछिका दुई सेट आर्मीले २५–१३ र २५–१४ अङ्कले जित्यो।
खेलको अन्तिम निर्णायक सेट एपिएफ क्लबले १५–९ अङ्कले जित्यो। जितसँगै एपिएफ क्लबले ५ अङ्क जोडेको छ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार, दोस्रो हुने टोलीले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार पुरस्कार प्राप्त गर्नेछ।