News Desk
दुई विभागीय टोलीबीच भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३० को सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार एपिएफले पुलिसलाई २५-२२, २४-२६ , २५-१९ सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।
छैटौँ पटक च्याम्पियन बनेको एपिएफले ट्रफीसँगै ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्यो। दोस्रो भएको पुलिसले २ लाख ५० हजार रुपैयाँ हात पार्यो।
तेस्रो भएको चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लबले १ लाख २५ हजार रुपैयाँ तथा चौथो स्थान हासिल गरेको आर्मीले ६२ हजार रुपैयाँ प्राप्त गरे।
शनिवारै डायमन्डले आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बैशाख १२ मा शुरु प्रतियोगितामा ४ टोली सहभागी थिए।
एपिएफकी स्पाइकर निरुता ठगुन्ना प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भइन्। एपिएफकी कविता भट्ट सर्भर, जस्ना महतो सेटर र महेश चौधरी प्रशिक्षक‚ पुलिसकी लक्ष्मी चन्द स्पाइकर र शान्तिकला तामाङ लिबेरो तथा न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर चुनिए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।