News Desk
काठमाडौं । दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको उत्कृष्ट फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा सानदार जित हासिल गरेको छ ।
पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ बल बाँकी हुँदा पूरा गयो । अन्तिम दुई ओभरमा ३८ रन चाहिएकोमा दीपेन्द्रले १९औं ओभरमा चार छक्का प्रहार गर्दै उक्त ओभरमा २६ रन ल्याएका थिए । अन्तिम ओभरको पहिलो तीन बलमा सोमपालले छक्का, दुई रन र चौका प्रहार गर्दै नेपाललाई जित दिलाए ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ७० रन जोडे । दीपेन्द्रले ५२ तथा सोमपालले ३२ रन जोडे । नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध २ थप अभ्यास खेल खेल्नेछ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ । १६ र १८ मेमा अभ्यास खेलसंगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।
२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो । नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।
नेपालको प्लेइङ ११
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी,सागर ढकाल |