विश्वकप : अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले हरायो
News Desk
Jun-08 , 2024 तारिख 10:38 बेलुका

आईसीसी टी–२० विश्वकप २०२४ मा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले हराएको छ। क्रिकेट इतिहासमा अफगानिस्तानले न्युजिल्याण्डलाई पहिलो पटक हराएको हो।

१६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १५।२ ओभरमा ७५ रनमा अल आउट भयो । न्युजिल्याण्डका ग्लेन फिलिप्सले १८ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाए। न्युजिल्याण्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन।

अफगानिस्तानका कप्तान राशिद खानले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । मोहम्मद नाबीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए। फजलहक फारुकीले ३।२ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि गायानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। 

समूह सी मा अफगानिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । अफगानिस्तानले पहिलो खेलमा युगाण्डालाई हराएको थियो। 

वेष्ट इण्डिज १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ। युगाण्डा दुई खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ। पपुवा न्युगिनी चौथो र न्युजिल्याण्ड पुछारमा छन ।