आयोजक वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा
News Desk
Jun-24 , 2024 तारिख 07:56 बेलुका

आयोजक वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार बिहान भएको खेलमा वेस्ट इन्डिजमाथि डिएलएस मेथडमा ३ विकेटको जित निकाल्दै दक्षिण अफ्रिका अन्तिम चारमा प्रवेश गरेको हो। 

वेस्ट इन्डिजको हारले जारी विश्वकपका दुवै आयोजक टोली सुपर ८ बाट बाहिरिएका छन।

समूह ‘बी’ बाट दक्षिण अफ्रिका र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएका छन। आयोजक वेस्ट इन्डिज र अमेरिका सुपर ८ बाटै बाहिरिए। सुपर ८ मा अमेरिका जित विहीन बन्यो। 

वेस्ट इन्डिजले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २ ओभरमा २ विकेट गुमाएर १५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। 

ओसिलो मैदानका कारण खेल १७ ओभरमा घट्दा दक्षिण अफ्रिकाले १ सय २४ रनको नयाँ लक्ष्य पायो। 

जुन लक्ष्य दक्षिण अफ्रिकाले ५ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो। 

टिस्टन स्टुब्स २९, हेनरिच क्लासेन २२ र कप्तान एडेन मक्रम १८ रनमा आउट भए।  मार्को जेनसेन २१ रनमा नटआउट रहे। 

वेस्ट इन्डिजका रोष्टन चेसले ३ विकेट लिए। आन्द्रे रसेल र जोसेपले समान २ विकेट लिए। 

त्यसअघि दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रनको योगफल तयार पारेको थियो। 

वेस्ट इन्डिजका रोष्ट चेसले ४२ बलमा ३ चौका र २ छक्का सहयोगमा ५२ रन हाने।  ओपनर कायल मेयर्सले ३५ रन बनाए। आन्द्रे रसेल १५ रनमा नटआउट रहे। 

तबरैज साम्सीले ३ विकेट झारे। मार्को जानसेन, एडेन मक्रम, ककेशव महाजन र कागिसो रवडाले समान १ विकेट आफ्नो नाममा गरे।

 

धेरै पढिएको