News Desk
अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले फिफा विश्वकप छनोट अन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेल गुमाउने भएका छन्। उनले चोटका कारण छनोट खेलहरु गुमाउने भएका हुन्।
अर्जेन्टिना एफएले छनोटका लागि घोषणा गरेको टोलीमा मेसीलाई समावेश गरिएको छैन। गत महिना अमेरिकामा भएको कोपा अमेरिकाको फाइनलमा खुट्टामा चोट लागेका कारण ३७ वषिर्य मेसी २८ सदस्यीय अर्जेन्टिनी टोलीमा नअटाएका हुन्।
हाल मेजर लिग सकर टोली इन्टर मायामीसँगै रहेका मेसी त्यही रिकभरीका लागि प्रयास गर्दै छन्।
कोपा अमेरिका पछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका एन्जेल डि मारियासँगै रिभर प्लेटका गोलकिपर फ्रान्को अरमानी पनि टोलीबाट बाहिरिएका छन्।
प्रशिक्षक लियोनेल स्कालोनीले मिडफिल्डर इजेक्वेल फर्नान्डेज र स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसलाई पहिलो पटक टिममा सामेल गरेका छन्।
विश्वकप छनोट अन्तर्गत साविक विजेता अर्जेन्टिनाले सेप्टेम्बर ५ मा चिली र त्यसको पाँच दिनपछि कोलम्बियासाग प्रतिस्पर्धा गर्ने छ।