टी–२० विश्वकप खेलेका खेलाडीलाई क्यानले जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने
News Desk
Aug-30 , 2024 तारिख 11:52 बिहान

नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध दिने निर्णय गरेको छ। 

आज बसेको क्यानको कार्यसमितिको बैठकले १५ जना खेलाडीलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो। 

अमेरिका र वेष्ट इण्डिजमा भएको आईसीसी पुरुष टी-२० क्रिकेट विश्वकपमा सहभागी मुख्य प्रशिक्षकलाई ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय पनि बैठकले गरेको छ। अन्य सपोर्ट स्टाफले भने जनही १ लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता पाउने भएका छन। 

क्यानले प्रत्येक प्रदेशका २ जना महिला र ३ जना पुरुष खेलाडी गरी देशका सबै ७ प्रदेश क्रिकेट संघका कुल ३५ जना प्रादेशिक खेलाडीलाई १५ हजार रुपैयाँ मासिक तलब पनि दिने भएको छ। 

म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारे भने क्यानले आईसीसीको निर्देशन पर्खेको छ। निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आलमको फुकुवाबारे आईसीसी एन्टी करप्सन युनिटमा पेश गरी त्यहाँबाट प्राप्त निर्देशनअनुसार संघबाट निर्णय गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

साथै क्यानले आगाामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौँमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग (एनपीएल)मा ८ टोलीको सहभागिता रहने पनि जनाएको छ l

धेरै पढिएको