स्वदेश फर्किएलगत्तै पलेशालाई राखेपले नगरपरिक्रमा गराउने
News Desk
Sep-04 , 2024 तारिख 12:24 बेलुका

फ्रान्सको राजधानी पेरिसमा जारी १७ औँ पारा ओलम्पिककी कांस्य पदक विजेता पलेशा गोवर्धन श्रेष्ठ बुधबार स्वदेश फर्किदै छन।  बिहान ८ बजे त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा कांस्य पदक विजेता पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामासहितको टोली विमानबाट ओर्लने राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ। 

पलेशालाई स्वदेश फर्किएलगत्तै राखेपले बुधवार नगरपरिक्रमा गराउने भएको हो।​

बिहान साढे ८ बजेबाट पलेशा र उनका प्रशिक्षक नेगीसहितको टोलीलाई विमानस्थलबाट त्रिपुरेश्वरसम्म नगर परिक्रमा गर्दै लगिनेछ। 

अभिनन्दन सहितको र्‍याली सुरुमा एयरपोर्टबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी हुँदै डिल्लीबजार त्यसपछि बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिने राखेपले जनाएको छ।

नेपाल सरकारका तर्फबाट पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशाले नगद ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएकी छिन। 

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार ग्रीष्मकालीन ओलम्पिक, शीतकालीन ओलम्पिक, पारा ओलम्पिक र विशेष ओलम्पिकमा कांस्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ। 

यसअघि नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले गत शुक्रबार राति पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थीन। 

पलेशाले नेपालका लागि पहिलोपटक ओलम्पिकमा आधिकारिक पदक दिलाएकी हुन।  

उनले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य पदक जितेकी थीन। 

धेरै पढिएको