News Desk
अमेरिकालाई १–० ले हराउँदै उत्तर कोरियाले फिफा यू–२० महिला विश्वकपको फाइनलमlस्थान बनाएको छ। उत्तर कोरिया चौथो पटक यो प्रतियोगिताको उपाधि नजिक पुगेको हो।
अब, फाइनलमा उत्तर कोरियाले जापानसँग खेल्नेछ। आज बिहान भएको सेमिफाइनलको दोस्रो खेलमा जापानले नेदरल्यान्ड्सलाई २–० ले पराजित गर्दै उत्तर कोरियासँगको भेट पक्का गर्यो।
कोलम्बियामा चलिरहेको विश्वकपको पहिलो सेमिफाइनलमा उत्तर कोरियालाई जित दिलाउन चोइ इ सनले गोल गरिन्। खेलभर अमेरिकाको तुलानामा उत्तर कोरियाले नै दबाब बनाएको थियो।
समूह ‘एफ’ मा रहेको उत्तर कोरियाले तीन मध्ये तीनै खेल जित्दै समूह विजेता बनेको थियो। उसले नेदरल्यान्ड्स, अर्जेन्टिना र कोस्टारिकालाई पराजित गरेको थियो।
अन्तिम १६ मा अस्ट्रियालाई ५–२, क्वार्टरफाइनलमा ब्राजिललाई १–० ले नै पराजित गरेको थियो। प्रतियोगिता उपाधि जर्मनी र अमेरिकाले समान तीन पटक जितेका छन्।
सन् २००२ बाट सुरु भएको प्रतियोगितामा उत्तर कोरिया सन् २००६ र सन् २०१६ को च्याम्पियन हो। सन् २००८ मा भने सर्वाधिक सफल टोली अमेरिकासँग २–१ ले पराजित हुँदा उपविजेता भएको थियो।